संसदीय समितिहरूमा आगामी बजेटको नीतिगत प्राथमिकता र भूमिहीनका समस्याबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

संसदीय समितिहरूमा आगामी बजेटको नीतिगत प्राथमिकता र भूमिहीनका समस्याबारे छलफल हुने

काठमाडौँ ।

संघीय संसदअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेट र भूमिहीन नागरिकका समस्या समाधानका विषयमा केन्द्रित रहेर छलफल हुने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूका सम्बन्धमा विज्ञहरूसँग परामर्श गर्ने भएको छ । बैठकमा अर्थविद् तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले मुलुकको वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी बजेटका प्राथमिकता र नीतिगत सुधारका पक्षमा आफ्ना सुझावहरू प्रश्तुत गर्नेछन् । समितिले बजेट निर्माणको पूर्वसन्ध्यामा सरोकारवालाहरूसँगको छलफललाई तिब्रता दिएको हो ।

यसैगरी राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भूमिहीन नागरिकहरूको व्यवस्थापनका विषयमा छलफल हुने भएको छ । दुवै समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएका ‘होल्डिङ्ग सेन्टर’हरूको अनुगमन पश्चात प्राप्त प्रतिवेदन र त्यहाँको वस्तुस्थितिको समीक्षा गर्ने कार्यसूचि राखेका छन् । बैठकमा होल्डिङ्ग सेन्टरहरूको प्रभावकारिता, नागरिकहरूको जीवनयापनको अवस्था र भूमिहीन समस्याको दीर्घकालीन समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा सदस्यहरूबीच विचार विमर्श हुनेछ । संघीयता सबलीकरण समितिले विशेष गरी राष्ट्रिय सरोकारका विषय र भूमिहीनका समस्यालाई संघीय संरचना अनुरूप कसरी सम्बोधन गर्ने भन्ने पक्षमा जोड दिनेछ ।

Leave a Reply