संसदमा बोलेको कुरा कार्यान्वयन नहुने हो भने बोल्नुको कुनै अर्थ छैनः सांसद बुढा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

संसदमा बोलेको कुरा कार्यान्वयन नहुने हो भने बोल्नुको कुनै अर्थ छैनः सांसद बुढा

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले जाजरकोट जिल्लाका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा नागरिकको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बुढाले हालैको भीषण असिनापानी, हावाहुरी र बाढीका कारण जाजरकोटको जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा व्यापक क्षति भएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किनुभएका सांसद बुढाले जुनीचाँदे गाउँपालिका–११ की ६० वर्षीया धनसरा दमाईको मार्मिक पीडा सदनमा सुनाउनु भयो ।

भूकम्पले घर भत्किएपछि सरकारले दिएको अस्थायी आवाससमेत हावाहुरीले उडाएको र ऐलानी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरू अहिले पूर्णतः विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनु भयो । संसदमा उठाइएका विषयहरूमाथि सरकारले तदारुकता नदेखाएको प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले सदनको प्रभावकारितामाथि प्रश्न उठाउनु भयो । प्राकृतिक विपत्तिका कारण घरबारविहीन भएका र अन्नबाली नष्ट भएका किसानहरूले स्थानीय तहदेखि काठमाडौँको माइतीघरसम्म धर्ना दिँदा पनि राज्यले उचित सम्बोधन नगरेको उहाँको आरोप छ । सांसद बुढाले तत्काल प्रभावित क्षेत्रमा राहत, पुनस्र्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार