काठमाडौँ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीचको सम्बन्ध हालसम्मकै अभूतपूर्व र ऐतिहासिक तहमा पुगेको बताउनुभएको छ । चीनको राजकीय भ्रमणमा जानुअघि मंगलवार एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले दुई देशबीचको वर्तमान सम्बन्धको चर्चा गर्दै भन्नुभयो, ‘आज रुस र चीनको सम्बन्ध वास्तविक रूपमै अभूतपूर्व स्तरमा पुगेको छ ।’
उहाँले दुई राष्ट्रबीच नियमित रूपमा हुने आपसी भ्रमण र उच्चस्तरीय वार्ताहरू द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासका अभिन्न अंग भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पुटिनकाअनुसार यस्ता संवादहरूले दुई देशबीचको सम्बन्धका सम्पूर्ण पक्षहरूलाई प्रवद्र्धन गर्न र यसमा रहेका असीमित सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भुमिका खेल्नेछन् ।




