काठमाडौँ ।
नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार र प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिनुभएको छ । बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अर्यालले सरकार निर्माणको मुख्य थलो संसद नै भएकाले सरकारले यसको गरिमा र उत्तरदायित्वलाई बिर्सन नहुने बताउनुभएको हो । उपनेता अर्यालले विगतका प्रधानमन्त्रीहरूले संसदमा आफैँ समय माग गरेर महत्वपूर्ण विषय र घटनाक्रमबारे जानकारी गराउने परम्परा रहेको स्मरण गराउँदै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
विशेष गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीको उपस्थिति र सहभागिता अनिवार्य हुनुपर्ने उहाँको तर्क थियो । उहाँले नीति तथा कार्यक्रमलाई अझ परिष्कृत बनाउन सरकारले संसदीय छलफललाई महत्व दिनुपर्ने उल्लेख गर्नुभयो । संसदीय अभ्यासमा छलफलबाट भाग्ने, प्रश्नको सामना नगर्ने र संसदलाई बेवास्ता गर्ने व्यवहार शोभनीय नहुने बताउँदै उहाँले यस्तो प्रवृत्ति लोकतान्त्रिक प्रक्रियाभित्र नपर्ने स्पष्ट पार्नुभयो । आफूलाई निर्माण गर्ने संस्था (संसद) प्रति जिम्मेवार बन्न र सरकारको एक वर्षे मार्गचित्रका रूपमा रहेको नीति तथा कार्यक्रमलाई गहन छलफलमार्फत पूर्णता दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।




