काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार

काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलवार सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिनुभएको छ । सो क्रममा उहाँले उद्धार गरिएका व्यक्तिहरूसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो राख्नुभएको थियो । उहाँले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय एवं बेवारिसेलाई मात्र आश्रममा राखिने प्रष्ट पार्नुभयो । महानगरले हाल बिहान, दिउँसो र राति गरी तीनवटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ । विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको छ । स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने महानगरको विश्वास छ ।
कार्यवाहक प्रमुख डंगोलकाअनुसार सडकमा रहेका असहाय तथा अलपत्र नागरिकहरूको उचित व्यवस्थापनका लागि महानगरको टोली बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा खटिएको छ । विशेषगरी पशुपति लगायतका मठमन्दिर र सम्पदा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्नेछ । पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ । महानगरपालिकाले सडकमा कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन व्यतित गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो । यसबाट सडकमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने र नागरिकले सरकारको अभिभावकत्व महशुस गर्ने डंगोलले बताउनु भयो । महानगरपालिकाले यस अभियानलाई सफल बनाउन आम नागरिकसँग सहयोगको अपेक्षा गरेको छ । सडकमा कोही पनि व्यक्ति अलपत्र परेको वा बिरामी अवस्थामा भेटिएमा मानवसेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । यो कार्य सबैको साझा दायित्व भएको भन्दै कार्यवाहक प्रमुख डंगोलले यसमा सबै पक्षलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

पहिलो दिन उद्धार गरिएकाहरूमा ६ जना महिला र २२ जना पुरुष छन् । उनीहरू २५ देखि ७८ वर्ष उमेर समूहका छन् । ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका रहेका छन् । उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् । ह्विलचेयर र वैशाखी प्रयोगकर्ताहरूलाई पनि सेन्टरमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित र सुरक्षित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यवाहक प्रमुख डंगोलले सडकमा अलपत्र परेका, बिरामी वा असहाय व्यक्तिहरू देखेमा मानव सेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गरी सहयोग गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ । यो अभियानलाई सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले समाजका सबै पक्षसँग हातेमालो गर्न आह्वान गर्नुभएको छ ।

Leave a Reply