मजदुरका अधिकार खोस्ने ‘पपुलिजम’ विरुद्ध सशक्त आन्दोलन गर्ने अध्यक्ष सिम्खडाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

मजदुरका अधिकार खोस्ने ‘पपुलिजम’ विरुद्ध सशक्त आन्दोलन गर्ने अध्यक्ष सिम्खडाको चेतावनी

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले लोकप्रियतावादको नाममा श्रमिकका हक–अधिकार र ट्रेड युनियन आन्दोलनमाथि भइरहेको प्रहार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष सिम्खडाले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको रगत र पसिना बगेको स्मरण गर्दै आज तिनै श्रमिकका झुपडीमाथि डोजर चलाउनु र ट्रेड युनियन अधिकारमाथि बन्देज लगाउन खोज्नु फाँसीवादी चिन्तन भएको आरोप लगाउनु भयो । पछिल्लो समय विकसित डिजिटल अर्थतन्त्र र ‘गिग इकोनोमी’का नाममा श्रमिकहरूलाई आधुनिक दास बनाउन खोजिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । राइडर, अनलाइन भेन्डर र आउटसोर्सिङमा कार्यरत श्रमिकहरूलाई श्रम ऐनको दायराभन्दा बाहिर राखेर मालिक विहीन बनाउने खेल भइरहेको उहाँको तर्क थियो । उहाँले श्रम ऐनका मजदुर विरोधी दफाहरू खारेज गर्न सरकारसँग माग गर्नुभयो । विशेष गरी श्रम ऐनको दफा १४५ (कटौती), दफा १०९ (सरुवा), दफा ३९ (जगेडा) र दफा ५८ (आउटसोर्सिङ) लाई श्रमिक विरोधी भन्दै ती प्रावधानहरू तत्काल हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिकको न्युनतम ज्यालाले जीवन धान्न मुस्किल परेको उल्लेख गर्दै सिम्खडाले वैज्ञानिक ढङ्गले तलब भत्ता वृद्धि गर्न र श्रमिकका छोराछोरीका लागि गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी गर्न राज्यसँग माग गर्नुभयो ।

उहाँले अबको आन्दोलन उद्योग र कलकारखानामा मात्र सिमित नभई सडक, सदन र डिजिटल प्लेटफर्मसम्म विस्तार हुने उद्घोष गर्नुभयो ।

Leave a Reply