केएमसीले तीन जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

केएमसीले तीन जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने

काठमाडाैं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले गरिब तथा असहाय तीन जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।  केएमसीले पत्रकार सम्मेलन गरी यस्ताे जानकारी दिएको हो ।

केएमसीले खोटाङका १९ वर्षीय राजेश राई, मोरङका जितेन्द्र महरा तथा ताप्लेजुङका मिङ्मा खान्डु शेर्पाको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ । उनीहरूलाई आवश्यक सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ । यसअघि अस्पतालले हुम्लाका नारायण लामाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरी डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

केएमसीका मिर्गौला प्रत्यारोपन विशेषज्ञ डा सुरेश महर्जनले मिर्गौला फेल भएपछिको पहिलो उपचार नै प्रत्यारोपन भएको बताउनुभयो । उहाँले आर्थिक अभाव हुने र मिर्गौला दिने मान्छे नपाउँदा मात्रै डायलसीस गर्ने उहाँको भनाइ छ । केएमसीले हालसम्म ७१ जनाको सफल प्रत्यारोपन गरेको जानकारी दिनुभयो । ७१ मध्ये चार जना विदेशी नागरिकको प्रत्यारोपन गरेको उहाँले बताउनुभयो ।

केएमसीका सञ्चालक डा. सुनिल शर्माले राज्यका स्वास्थ्य नीतिहरू सबै नागरिकका लागि समान रूपमा लागू हुन नसकेको बताउनुभयो । संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सेवा सबै नागरिकले समान रूपमा पाउनुपर्ने भएपनि व्यवहारमा त्यस्तो नभएको उहाँको भनाइ छ । उहाँले ताप्लेजुङको ओलाङचुङ्गोलादेखि हुम्लाको सर्केगाडसम्मका नागरिकले समान हैसियतमा सेवा पाउनुपर्ने बताउनुभयो ।

उहाँले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउने सरकारी घोषणालाई सस्तो प्रचार मात्र भएको आरोप लगाउनुभयो । उहाँका अनुसार राज्यको घोषणाबाट दूरदराजका गरिब तथा लक्षित वर्ग लाभान्वित हुन सकेका छैनन् । सरकारले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मात्रै औषधी किन्न रकम दिने गरेको प्रतिपनि असन्तुष्टी जनाउनुभयो ।

सरकारी अस्पतालमा ६ देखि ८ महिनासम्मको पालो नआउने हुँदा बिरामीहरुलाई थप आर्थिक भार पर्ने बताउनुभयो । डा. शर्माले मिर्गौला प्रत्यारोपण जस्तो संवेदनशील विषयमा सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । सरकारले जुनसुकै अस्पतालमा प्रत्यारोपण गरेको भएपनि बिरामीलाई औषधी उपलब्ध गराउने जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।

डा शर्माले केएमसी अस्पतालले निःशुल्क मिर्गौला प्रत्यारोपण गरेका बिरामीले पनि औषधीका लागि ४–५ लाख रुपैयाँसम्म खर्च गर्नुपरेको बताउनुभयो । उहाँले राज्यले तत्काल निजी तथा सरकारी सबै अस्पतालमा प्रत्यारोपण गरेका बिरामीलाई औषधी उपलब्ध गराउने व्यवस्था गर्न माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार