Our Network

मंसिर १५ २०७८, बुधवार

डायलिसिस मेसिन अभावले मृत्यु कुर्दै बिरामी

चितवन । चितवनका अस्पतालमा मिर्गौलाका बिरामीको चाप बढ्दो छ । चापअनुसार उपचार सामग्री र दक्ष जनशक्ति नहुँदा बिरामीले दुःख पाइरहेका छन् । अझ मिर्गौलाको डायलिसिस गर्ने काम महंगो हुने भएकाले बिरामीहरू उपचारै नगरी मर्न बाध्य छन् ।

सरकारले मिर्गौलाको डायलिसिस गर्दा प्रति डायलिसिस २५ सय रुपैयाँ छुट दिए पनि त्यो पर्याप्त छैन । एकचोटी डायलिसिस गर्दा आठदेखि १० हजार रुपैयाँसम्म खर्च हुने बिरामी बताउँछन् । हप्तामा दुई/तीन पटक डायलिसिस गर्नुपर्ने बिरामी घर आउजाउ गर्न भ्याउँदैनन् । अस्पतालमै बसेर उपचार गर्दा धेरै खर्च लाग्छ ।

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र रत्ननगर बकुलहर अस्पतालमा मिर्गौलाको डायलिसिस हुने गरेको छ । सबैभन्दा बढी भरतपुर अस्पतालमा बिरामीको चाप छ । डायलिसिस गर्ने मेसिन पर्याप्त नहुँदा बिरामीहरू पालो कुर्दै बस्नुपरेको छ । 

दुई मेडिकल कलेजले सरकारसँग सम्झौता भइनसकेको भन्दै नयाँ बिरामीलाई छुट दिएका छैनन् । जसका कारण ती बिरामीको चाप पनि सरकारी अस्पतालमै परेको छ । हरेक आर्थिक वर्षको भदौभित्रै सम्झौता भइसक्नुपर्ने भए पनि मेडिकल कलेजले नगर्दा बिरामीले सास्ती खेप्नु परेको छ ।

सरकारले दिएको २५ सय रुपैयाँ छुट रकम, बिरामीको बेड चार्ज, सलाइन, डाइलोजरलगायत सामान्य सामग्री किन्दैमा ठिक्क हुने भरतपुर महानगरपालिका–१ रामनगरका जीवनाथ पराजुली बताउँछन् । ‘एउटै इन्जेक्सनलाई ३४ सय रुपैयाँ पर्छ । स्वास्थ्य बिमाको पैसाले त एक महिनालाई पनि पुग्दैन’, उनी भन्छन्, ‘एक हप्तामा तीन पटक डायलिसिस गर्ने बिरामी पनि धेरै छन् । धेरैजसो औषधी त स्वास्थ्य बिमामै नपाइने हुन्छन् ।’

उनकी श्रीमती ६२ वर्षीया लक्ष्मीदेवी पराजुली मिर्गौलाको बिरामी भएको ३६ वर्ष भयो । २०४२ सालदेखि नै मिर्गौला रोगबाट पीडित बनेकी लक्ष्मीदेवीको २०४६ सालमा एउटा मिर्गौला निकालेर फालिएको थियो । पुरानो मेडिकल कलेजमा उपचाररत उनको हाल हप्तामा एकचोटी डायलिसिस हुने गरेको छ ।

जिल्लाका विभिन्न अस्पतालमा मिर्गौलाको डायलिसिस गर्ने ३६० जना बिरामी सम्पर्कमा आएको मिर्गौला पीडित सरोकार समाज नेपाल चितवन शाखाका सल्लाहकारसमेत रहेका पराजुलीले बताए । नियमित औषधी मात्रै खाएका बिरामी भने उनीहरूको सम्पर्कमा छैनन् । जिल्लाका चार वटा अस्पतालमा गरी करिब ३५ वटा डायलिसिस गर्ने मेसिन छन् । बिरामीको चापका आधारमा कम्तीमा ५० वटा मेसिन चाहिने उनी बताउँछन् । 

भरतपुर अस्पतालमा चार वर्षअघिदेखि मात्रै मिर्गौलाको डायलिसिस हुन थालेको हो । अस्पतालमा सुरुमा डायलिसिस गर्ने १२ वटा मेसिन थिए । ल्याउने बित्तिकै दुई वटा बिग्रिए । बाँकी रहेका १० वटामध्ये एउटा मेसिन कामै नलाग्ने गरी बिग्रिएको लामो समय भइसक्यो । 

बिग्रिएको अर्को मेसिन बनाउने क्रममा रहेको अस्पतालका मेसु प्रा. डा. कृष्णप्रसाद पौडेलले बताए । ‘प्राविधिक कारणले मेशिनको मर्मतमा ढिलाइ भएको हो । मर्मत नहुँदा हामी नै निरीह बनेका छौं । हामीले मर्मत गर्न सक्ने कुरा पनि भएन’, उनले भने । अस्पतालमा हाल आठ वटा मेशिन मात्रै चालु अवस्थामा छन् ।

मिर्गौलाको डायलिसिस गर्ने बिरामीको संख्या उच्च रहेकाले दुई वटा मेसिन किन्ने प्रक्रियामा अस्पताल रहेको उनले बताए । नयाँ मेसिन आएपछि र अस्पतालको निर्माणाधीन ‘सी ब्लक’ निर्माण सम्पन्न भएपछि बिरामीलाई केही हदसम्म सहज हुने उनी बताउँछन् ।

भरतपुर अस्पतालमा हाल १ सय १२ जना बिरामीले नियमित रूपमा मिर्गौलाको डायलिसिस गर्दै आएका छन् । अस्पतालले चार सिफ्टमा बिरामीको डायलिसिस गर्दै आएको छ । त्यसका बाबजुद डायलिसिस गर्न नपाएर ३० जना नयाँ बिरामीले पालो कुरिरहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । 

मिर्गौला रोगको प्रमुख कारण मधुमेह र उच्च रक्तचाप

भरतपुर अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. भोजराज अधिकारी मिर्गौला ट्रान्सप्लान्ट स्थापनाको लागि नागरिकस्तरबाट नै दबाब दिनुपर्ने बताउँछन् । मिर्गौला रोगबाट बच्ने उपयुक्त उपाय यसको रोकथाम वा मिर्गौला ट्रान्सप्लान्ट नै भएको उनले बताए । 

भरतपुर अस्पतालमा मिर्गौला ट्रान्सप्लान्ट स्थापना गर्ने नीति मात्रै बनेको तर स्थापनाको काम भने सुरु नै नभएको उनले बताए । ‘डायलिसिस त न्यूनीकरण गर्ने उपाय मात्रै हो । रोगको ब्रिज कोर्स हो । निश्चित समयपछि कि ट्रान्सप्लान्ट हुनुपर्छ कि त बिरामीको मृत्यु नै हुन्छ’, उनी भन्छन्, ‘त्यसकारण डायलिसिस गर्नुपर्ने रोग निम्त्याउने उच्च रक्तचाप र मधुमेहमा पब्लिक स्क्रिनिङ गर्नुपर्छ ।’

वर्षमा कम्तीमा एकचोटी रक्तचाप र युरिनमा प्रोटिन परीक्षण गर्नुपर्ने उनी बताउँछन् । मधुमेह र उच्च रक्तचाप नै मिर्गौला फेल हुनुको प्रमुख कारण रहेको उनले बताए । ‘नेपालमा जति पनि मिर्गौलाका बिरामी मरेका छन्, ती प्राकृतिक कारणले मरेका होइनन्’, उनी भन्छन्, ‘उपचार नपाएर, आउन नपाएर वा आर्थिक कारणले मरेका छन् । त्यसकारण यस रोगबाट मर्नेको तथ्यांक नै भरपर्दो छैन ।’

Leave a Reply