एजेन्सी । थाइल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको ८२ औं सत्रमा विश्वव्यापी र क्षेत्रीय नेताहरूले तिब्र रूपमा परिवर्तन भइरहेको विश्वमा कोही पनि पछि नपर्ने कुरा सुनिश्चित गर्न कडा कदम चाल्न आह्वान गरेका छन् । यो बैठक यस्तो समयमा भएको छ जब यस क्षेत्रमा आर्थिक अनिश्चितता, भू–राजनीतिक तनाव, जलवायु जोखिम र तिब्र प्राविधिक परिवर्तनका साथै वृद्ध जनसंख्या, युवा बेरोजगारीका चुनौतीहरू र पुस्तान्तरको असमानता जस्ता प्रमुख जनसांख्यिकीय परिवर्तनहरूका कारण दबाब बढिरहेको छ ।
संयुक्त राष्ट्र संघकी उप–महासचिव अमिना जे. मोहम्मदले भन्नुभयो, ‘मध्यपूर्वको संकटले विश्वव्यापी रूपमा धक्का पुर्याएको छ र एशिया–प्रशान्त क्षेत्रका देशहरूलाई विभिन्न तरिकाले प्रभावित गरेको छ, यसको प्रभाव प्रायः सबैभन्दा जोखिममा रहेकाहरूलाई परेको छ। दिगो विकास नै अनिश्चितताका बीचमा सबै उमेरका मानिसहरूको प्रगति र लचकतालाई बलियो बनाउने हाम्रो सबैभन्दा राम्रो रणनीति हो ।’
‘कोही पनि पछि नपरोस् : एशिया र प्रशान्त क्षेत्रमा सबै उमेरका लागि समाजको विकास’ भन्ने नाराका साथ आयोजित यस सत्रमा वर्तमान र उदीयमान जनसांख्यिकीय प्रवृत्ति र सामाजिक–आर्थिक प्राथमिकताहरूबारे छलफल गरिएको थियो । चिनियाँ उप–परराष्ट्र मन्त्री मा झाओक्सुले एशिया–प्रशान्त क्षेत्रमा द्रूत वृद्धि कायम राख्न खुलापन र सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।





