काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्वारा आयोजित ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’लाई सम्बोधन गर्दै सचिव देवकोटाले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभई आवश्यकता बनिसकेको बताउनुभएको हो ।
यस वर्षको शिखर सम्मेलनको नारा ‘नेपालमा तथ्यमा आधारित निर्णय प्रक्रिया र कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान सुशासन’ प्रति ऐक्यवद्धता जनाउँदै उहाँले पाँचवटा मुख्य आधारहरू अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयनलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अनुमानका भरमा नभई विश्वसनीय तथ्याङ्क र प्रमाणका आधारमा निर्णय लिने परिपाटी नै प्रभावकारी स्वास्थ्य नीतिको मेरुदण्ड भएको स्पष्ट पार्नुभयो । विश्वव्यापी रूपमा देखापरेका संक्रामक रोग, नसर्ने रोग, जलवायु परिवर्तनका असर र स्वास्थ्य सेवामा रहेको असमानता जस्ता जटिल चुनौतीहरूलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति निर्माणको महत्त्व अहिले झनै बढेको उहाँको तर्क छ ।
उच्च कार्यक्षमता भएको स्वास्थ्य प्रणालीका लागि सुशासनलाई जग मान्दै उहाँले यसमा पारदर्शिता, जवाफदेहिता र विधिको शासन हुनुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा प्रवाहलाई कुशल, उत्तरदायी, समतामूलक र समयसापेक्ष बनाउनुपर्नेमा उहाँको जोड छ ।
सचिव देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचको खाडललाई कम गर्न अनुसन्धानका निष्कर्षहरूलाई व्यवहारमा उतार्ने प्रक्रियालाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।





