काठमाडाैं, २९ माघ । प्रदेश नम्बर ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकले थपालाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
एमालेका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी प्रस्तावक र माओवादी केन्द्रबाट त्रिलोचन भट्टको समर्थनमा थापालाई सभामुखमा चयन गरिएको हो ।
सभामुखमा निर्वाचित भएपछि थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर प्रदेश नम्बर ७ का विकासका लागि काम गर्ने बताए ।
सभामुख थापालाई प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले आजै सपथ गराएका छन् । प्रदेश नम्बर ७ को उपसभामुखको निर्वाचन भने फागुन ६ गतेका लागि तोकिएको छ ।