चिसोबाट न्यानोपनतर्फको परिवर्तन र समयचक्रको पुनर्जागरणसँगै नेपाली समाजमा माघे संक्रान्ति र माघी पर्व धार्मिक, सांस्कृतिक र सामाजिक एकताका साथ मनाइन्छ । माघे संक्रान्तिको आध्यात्मिक महत्व र थारु समुदायको पहिचान बोकेको माघी पर्वले नेपालको बहुसांस्कृतिक सौन्दर्य, एकता र परिवर्तनको सन्देशलाई एकैसाथ प्रतिबिम्बित गरेको छ ।
-माेहनप्रसाद मैनाली
मौसमको कठोर चिसोलाई चिर्दै सूर्य उत्तरायणतर्फ उन्मुख हुने माघ महिना नेपाली समाजका लागि हरेक वर्ष आउने समयचक्रको प्रतिबिम्ब हो । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व नेपालीहरुको धार्मिक आस्था र समयसँग गाँसिएको छ, जसले परिवर्तन र पुनर्जागरणको सन्देश बोकेको छ । माघे संक्रान्ति हिन्दू पात्रो अनुसार सूर्यले मकर राशिमा प्रवेश गर्ने दिन हो । संक्रान्ति शब्दको अर्थ परिवर्तन भन्ने हो । विशेषगरी माघे संक्रान्तिमा सूर्य उत्तरतर्फ फर्किन्छ, यसलाई उत्तरायण बिहानीको सुरुवात मानिन्छ । उत्तरायणले उज्यालो, ताप र नयाँ कृषि सत्रको संकेत गर्ने भएकाले प्राचीन वेद÷पुराणहरूमा उत्तरायणलाई विशेष शुभगणना गरिएको पाइन्छ । धार्मिक दृष्टिले, माघे संक्रान्ति स्नान, दान, एवं पूजा–अर्चनाका लागि अत्यन्त पुण्य मानिन्छ । गंगा, गोदावरी, कोसी, गण्डकी जस्ता पवित्र नदीहरूमा स्नान गर्दा पाप नाश हुने धार्मिक विश्वास रहेकाले हजारौं श्रद्धालु ती नदी तटमा दैनिकी स्नान गर्न पुग्छन् ।
माघे संक्रान्ति नेपालका धेरै समुदायहरूमा विशेष सांस्कृतिक र पारिवारिक अभ्यासहरूको अवसरको रुपमा पनि हेरिने गरिएको छ । यो पर्वले सत्य, सद्भाव, मेलमिलाप र साझा अनुभूतिको सन्देश दिन्छ । एक अर्कालाई मकर संक्रान्तिको शुभकामना दिने तथा तिलको लड्ड्ु, तरुल, चाकु घिउ तथा दाल र चामलको मिश्रणबाट बनाइने खिचडी विशेष खानाको रुपमा खाने गरिन्छ । माघ महिना दिन र रातको लम्बाइ तथा तापमान चक्रमा परिवर्तन ल्याउने समय हो ।
त्यस्तै, थारु समुदायको मौलिक पहिचान, संस्कार र सामूहिक जीवनशैलीलाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण पर्व हो माघी । प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व थारु समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक पुनर्संरचनाको प्रतीक मानिन्छ । कठोर परिश्रमपछि आउने फुर्सदको समयलाई उत्सवका रूपमा मनाउँदै माघीले समुदायमा एकता, आत्मसम्मान र परम्पराको निरन्तरता सुनिश्चित गर्ने गर्छ ।
माघीको मूल भाव श्रमको सम्मान र सामूहिक निर्णय प्रक्रियामा आधारित छ । यसै दिन थारु समुदायमा कमैया, कमलरी जस्ता परम्परागत श्रमसम्बन्धी सम्झौता नवीकरण वा अन्त्य गरिन्थ्यो । आज ती प्रथाहरू इतिहासमा सीमित भए पनि माघीले सामाजिक न्याय, समानता र अधिकारको चेतनालाई अझै जीवित राखेको छ । गाउँका अगुवाहरू चयन गर्ने, पारिवारिक तथा सामुदायिक जिम्मेवारी बाँडफाँड गर्ने चलनले माघीलाई एक प्रकारको स्थानीय लोकतन्त्रको अभ्यास बनाएको छ । सांस्कृतिक दृष्टिले माघी अत्यन्त समृद्ध पर्व हो । ढिक्री, माछा, घोंघी, सुँगुरको मासुजस्ता परिकार, झुम्रा नाच, थारु भेषभूषा र लोकगीतले यस पर्वलाई जीवन्त बनाउँछन् । यी सबै तत्वहरूले थारु संस्कृतिको मौलिकता र विविधतालाई उजागर गर्छन्, जुन राष्ट्रिय पहिचानकै महत्वपूर्ण हिस्सा हो ।
तर, आधुनिकताको दबाब र सांस्कृतिक एकरूपताको प्रभावले माघीको मौलिक स्वरूपमा चुनौती देखिन थालेको छ । त्यसैले राज्य, स्थानीय तह र स्वयं समुदायले माघीलाई केवल उत्सवमा सीमित नराखी सांस्कृतिक सम्पदा र सामाजिक चेतनाको पर्वका रूपमा संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक छ । माघे संक्रान्ति र माघी पर्व नेपालको बहुसांस्कृतिक सौन्दर्यको एक अमूल्य उत्सव र प्रतीक हो । यसलाई सम्पूर्ण नेपालीले अपनत्व स्वीकार गरी समृद्धिका लागि उपयोग गर्न आवश्यक छ ।





