आज माघे संक्रान्ति मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज माघे संक्रान्ति मनाइँदै

maghi-sankranti

काठमाडौं । आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । 

आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बागमती लगायतका नदीहरुमा  माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);