काठमाडाैं । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडातर्फ गइरहेको ना १ ज १७७८ नम्बरको टाटा सुमो भिमफेदी गाउँपालिका वडानम्बर ६ जुरीखेतमा दुर्घटना हुँदा २ भारतीय नागरिक सहित ६ जना यात्रुको मृत्यु भएको छ । सुमोमा सबार ३ जना यात्रु गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ की ४० वर्षीया सबिता लम्साल, हेटौंडा २ का २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार पटनाका ४२ वर्षीय रजनिश कुमार र भारत बिहारकै ४९ वर्षीय अरबिन्द कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य २ जना पुरुष छन् ।
यस्तै, घाईते सुमो चालक हेटौंडा ४ का गणेश थापा र हेटौंडा ४ कै बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर अस्पताल रिफर गरिएको छ । घाईते रौतहटकी चन्द्रपुर नगरपालिका २ की रिचा चौधरीको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
जुरिखेतस्थित सडकको माथिल्लो मोडबाट तल्लो मोडमा खसी सुमो दुर्घटना भएको प्रहरी ले जनाएको छ । सुमोमा ९ जना सबार रहेका थिए । ९ यात्रु मध्य १ जना बालक रहेका थिए । दुर्घटनामा परी घाईते भएकाहरुको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।





