टेलिभिजनको शताब्दी : बदलिँदो प्रविधि, चुनौती र भविष्य | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

टेलिभिजनको शताब्दी : बदलिँदो प्रविधि, चुनौती र भविष्य

आज विश्व टेलिभिजन दिवस । टेलिभिजन सुरुवातले विभिन्न आरोहअवरोहका बीच एक शताब्दीको यात्रा पार गरेर आजको नयाँ युगको यात्रामा उभिएको छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र युट्युबजस्ता प्लेटफर्महरूले टेलिभिजनलाई चुनौती दिएपनि टेलिभिजनको मूल महत्व, विश्वसनीय समाचार तथा संस्थागत जिम्मेवारीका कारण सूचनात्मक मेरुदण्डको रूपमा आफ्नो अस्तित्व र पहिचानलाई निरन्तरता दिइरहेको छ । 

 

-माेहनप्रसाद मैनाली

आज नोभेम्बर २१, विश्व टेलिभिजन दिवस । यस वर्ष टेलिभिजन आविष्कार भएको एक सय वर्ष पूरा भएको छ । सन् १९२५ मा स्कटिस आविष्कारक जोन लोगी बेयर्डले पहिलोपटक गतिशील छवि प्रसारण गरेर विश्वलाई चकित पारिदिएपछि टेलिभिजन सूचना, मनोरञ्जन, विचार निर्माण र राजनीतिक सन्देश प्रवाह गर्ने अत्यन्त प्रभावशाली माध्यमका रूपमा स्थापित हुन पुग्यो । एक शताब्दीको यात्रामा टेलिभिजनले जनजीवनमा गहिरो छाप छोड्दै आएको छ ।

श्याम स्वेतबाट शुरु भएको टेलिभिजनको सुरुवातमा दर्शकहरूको विकल्प सीमित तर प्रभाव अत्यधिक थियो । त्यसबेला टेलिभिजन केवल दृश्य प्राप्त गर्ने नयाँ आश्चर्य मात्र थियो । तर रंगीन टेलिभिजनको आगमनले दृश्य विश्वको स्वरूप नै बदलिदियो । विश्वका राजनीतिक घटना, खेलकुद, मनोरञ्जन, संस्कृतिका विविध रूपहरू घरभित्रै देख्न पाउने वातावरण बनेपछि टेलिभिजन जनमानसको दैनिक जीवनमा गहिरोसँग प्रवेश गर्यो ।

यसको उत्कर्षसँगै प्रविधिको निरन्तर विस्तारले टेलिभिजनलाई हरेक केही दशकमा नयाँ आयाम दियो । एनालगबाट डिजिटलमा रूपान्तरण, साधारण प्रसारणबाट हाई–डेफिनिशन हुँदै फोर केसम्मको यात्रा, इन्टरनेट जडित स्मार्ट टिभी, स्ट्रिमिङ प्लेटफर्म, अन–डिमान्ड कन्टेन्टलगायतले टेलिभिजनलाई प्रसारण गर्ने साधन मात्र नभई विविध सामग्रीका लागि एउटा विशाल केन्द्र बनाइदियो । तर प्रविधिको यति तीव्र विकासले अवसरका साथै नयाँ चुनौतीहरू थप्ने काम पनि गरिरह्यो ।

पछिल्ला दुई दशकमा सामाजिक सञ्जालको विस्फोटक विस्तारले टेलिभिजनलाई गम्भीर प्रतिस्पर्धामा धकेल्यो । फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्सजस्ता माध्यमहरूको विकासका कारण सूचना प्राप्त गर्ने तरिका नै बदलिदियो । अब आमसर्वसाधारणको ध्यान टेलिभिजन स्क्रिनमा सीमित छैन; मोबाइल नै व्यक्तिगत टेलिभिजन बनेको छ । यसले टेलिभिजनको दर्शक घटायो, युवा पुस्तालाई परम्परागत माध्यमबाट टाढा पु¥यायो, छ्यापछ्याप्ती सामग्री उपलब्ध भएपछि टेलिभिजनको समाचार तथा मनोरञ्जनमा रहेको एकाधिकार अन्त्य गरिदियो र विज्ञापन बजार नै डिजिटलतर्फ आकर्षित ग¥यो । तर सामाजिक सञ्जालले नकारात्मक प्रभाव मात्र पारेको छैन । यसले टेलिभिजनलाई आफूले बनाएको सामग्रीलाई थप ठूलो दर्शकसमूहसम्म पु¥याउने नयाँ अवसर पनि दिएको छ । टेलिभिजन कार्यक्रमहरू सामाजिक सञ्जालमा क्लिप, रील वा लाइभ स्ट्रिमिङका रूपमा प्रस्तुत हुने क्रम बढेसँगै यसको पहुँच विस्तार भएको छ, ब्रान्ड पहिचान थप बलियो बनेको छ । सामाजिक सञ्जाल टेलिभिजनको प्रतिस्पर्धी मात्र नभइ सहयोगी पनि बनेको छ ।

युट्युबले टेलिभिजनमाथि पार्ने प्रभाव झन् व्यापक छ । स्वतन्त्र सिर्जनाको खुला प्लेटफर्म भएकाले जो–कोहीले सामग्री उत्पादन र प्रसारण गर्न सक्ने वातावरण सिर्जना भयो, जसले परम्परागत टिभी पत्रकारिता र मनोरञ्जन कार्यक्रमलाई प्रत्यक्ष चुनौती दियो । दर्शकले आफूलाई मनपर्ने सन्देश मनपर्ने समयमा हेरिरहेका छन्, जसले समयमा आधारित टेलिभिजन प्रसारणको आकर्षण घटायो । सस्तो, छिटो र स्वतन्त्र माध्यम भएकाले धेरै सामग्री उत्पादक युट्युबतर्फ आकर्षित हुन थाले । विज्ञापन बजारको ठूलो हिस्सा युट्युबतर्फ मोडिएपछि टिभी संस्थाहरू वित्तीय दबाबमा परे । तर युट्युबको उपस्थिति पनि टेलिभिजनका लागि अवसरविहीन छैन । टेलिभिजनका लोकप्रिय कार्यक्रमहरू युट्युबमा उपलब्ध हुँदा ती कार्यक्रमले लाखौँ अतिरिक्त दर्शक पाउने, राजस्व आर्जन गर्ने र नयाँ पुस्तासँग सम्बन्ध कायम राख्ने अवसर प्राप्त भएको छ ।

यति धेरै परिवर्तनका बीच पनि भविष्यमा टेलिभिजनले आफ्नो अस्तित्व र पहिचानलाई ढगमगाउन दिएको छैन । स्मार्ट टिभीमार्फत् इन्टरनेट सामग्री र परम्परागत प्रसारणलाई एउटै स्क्रिनमा सहअस्तित्वको सिर्जना गरेको छ । प्रविधिको विकासले टेलिभिजनलाई थप गतिशील बनाउँदै लगेको छ ।

सय वर्ष पूरा गरेर टेलिभिजन आज अर्को प्राविधिक क्रान्तिको मोडमा उभिएको छ । चुनौतीहरू गम्भीर छन्, तर अवसरहरू पनि त्यत्तिकै प्रबल छन् । समाज बदलिन्छ, प्रविधि बदलिन्छ । तर सत्यको खोज सधैँ जीवित रहन्छ । टेलिभिजनले नयाँ प्रविधिसँग तालमेल मिलाउदै समाजको धड्कन र सूचना दर्पणको रूपमा अनन्तयात्रा लम्किरहने छ ।

Leave a Reply