योजना बिना टेलिभिजनमा लगानी गर्दा एक वर्ष नपुग्दै बन्द हुने अवस्थामा पुगेः डा.अर्याल | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

योजना बिना टेलिभिजनमा लगानी गर्दा एक वर्ष नपुग्दै बन्द हुने अवस्थामा पुगेः डा.अर्याल

काठमाडौं, ५ मंसिर । हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । तर विश्वमा सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा स्थापित छ । टेलिभिजन शुरुवात सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भएको थियो । विश्वका धेरै देशमा ब्ल्याक इन हवाइट टेलिभिजन शुरुवात भयो । तर नेपालमा ब्ल्याक इन हवाइट नभएर सिधै रंगीन टेलिभिजनको शुरुवात भयो । नेपालमा सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ । नेपालमा नयाँ प्रविधि भएकाले दर्शक आकर्षण गर्ने कार्यक्रमहरु नभए पनि दर्शकहरु माझ टेलिभिजन लोकप्रिय थिए । तर पछिल्लो समय टेलिभिजनको प्रभावकारीता नहुँदा दर्शकहरु माझ लोकप्रियता घट्दै गएको पाइन्छ । नेपाली दर्शकहरु पछिल्लो समय लोकप्रिय कार्यक्रम र भारतीय मेगा रिसेलहरु हेर्न थालेका छन् । विश्व टेलिभिजन दिवसका अवसरमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजना बिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताउनु भयो । उहाँले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गर्नुभयो । उहाँले सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाउँदा सबै भन्दा सस्तामा उत्पादन (प्रोडक्सन) भएका मनोरञ्जनका सामग्रिमा टेलिभिजनहरु केन्द्रित भएको बताउनु भयो । उहाँले कन्टेन्टलाई गम्भिरतापूर्वक हेरेर बनाउने भन्दा पनि हलुका र सस्ता कन्टेन्टहरु बजाउने काम मात्रै गरेको उल्लेख गर्नुभयो । सहप्राध्यापक अर्यालले सरकारले टेलिभिजनहरुले कस्तो कन्टेन्ट बनाउन भन्ने गाइडलाइन बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले अहिलेसम्म प्राइभेट र सरकारी टेलिभिजनले बनाउने कन्टेन्का लागि स्पष्ट गाइडलाइन नहुँदा नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाएपछि सबै भन्दा सस्तो प्रोडक्सनमा मनोरञ्जन हुन्छ । टेलिभिजनहरुले गित संगित र हल्लाका कन्टेनहरु बजाउने काम मात्रै भएका छन् । टेलिभिजनहरुले कन्टेनलाई गम्भिरतापूर्वक हेरेर बनाउने काम भएको छैन । सरकारले कन्टेन बनाउनको लागि गाइडलाइन बनाउनुपर्ने थियो । सटेन खालका टेलिभिजनहरुलाई यति उत्पादन गर्नैपर्छ भन्नुपर्ने थियो । केही न केही गाइड लाइन हुनुपर्ने थियो । तर अहिलेसम्म छैन । अहिले नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा छ ।’

सहप्राध्यापक अर्यालले गणतान्त्रिक मुलुकमा सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने बताउनु भयो । उहाँले नेपाल टेलिभिजनलाई सरकारको ठाडो नियन्त्रणमा राख्न नहुने भन्दै संसदप्रति उत्तरदायी बनाउन पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले नेपाल टेलिभिजनलाई पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने भन्दा पनि रेडियो र टेलिभिजन मर्ज गर्ने कुरा गर्नु गलत भएको बताउनु भयो । उहाँले सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने यता प्राइभेट क्षेत्रलाई पनि चलाउन दिँदा दुई बीचमा भुमिकामा फरक बनाउने कुरामा सरकार चुकेको बताउनु भयो । उहाँले निजी टेलिभिजनहरुलाई कसरी अगाडि लैजाने ? भन्ने राज्यको स्पष्ट सोच नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने प्राइभेट क्षेत्रलाई पनि टेलिभिजन चलाउने दिने तर दुईबीचको अन्तर वा भुमिकामा फरक हुनुपर्छ । नेपाल टेलिभिजनलाई सरकारको ठाडो निर्देशनमा नराखौं संसद प्रति उत्तरदायी बनाउ,पब्लिक सर्भिस बोर्ड कास्टिङ बीबीसी र एनएचकेले गरेको जस्तो गरौं भनेर बनाएको योजना कहाँ पुगिसक्यो । यतिका वर्षसम्म हरायो, हुँदा हुँदा अहिलेको सरकारले बुझेको के रहेछ भन्दा रेडियो र टेलिभिजनलाई मर्ज गर्ने भनेको छ । गणतान्त्रिक व्यवस्थामा राज्यले टेलिभिजन चलाएर बस्नुपर्दैन ।’

सहप्राध्यापक अर्यालले नेपाल टेलिभिजनको प्रभावकारीता विगतको भन्दा अहिले झन–झन घट्दै गएको बताउनु भयो । उहाँले निजी क्षेत्रका टेलिभिजन योजना विहिनतामा सञ्चालन भइरहेको बताउनु भयो । उहाँले योजना विना सञ्चालनमा आउँदा एक वर्षमा ठूलो लगानीमा हल्ला गरेर खुलेका नयाँ टेलिभिजनहरु पनि बन्द भइरहेको बताउनु भयो । उहाँले एक वर्षको पनि योजना नबनाई सञ्चालनमा आउने टेलिभिजनलाई अनुमति दिननहुने बताउनु भयो । सरकारले वार्षिक योजना सहित स्वीकृत दिने गाइडलाइन बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले प्रेस स्वतन्त्रतालाई अभिव्यक्तिको लागि स्वतन्त्रता सम्पूर्ण रुपमा अक्षुण राख्दै टेलिभिजनहरुसँग वार्षिक योजनाहरु माग गर्न जरुरी देखिएको बताउनु भयो । उहाँले योजना बिना टेलिभिजनहरु स्थापना गरी सञ्चालन गर्दा श्रमजीविका समस्याहरु आइरहेको बताउनु भयो । उहाँले पछिल्लो समय योजना बिना सञ्चालनका टेलिभिजनमा श्रमजीविका समस्या मात्रै नभएर अपारदर्शिता समेत भइरहेको शंका व्यक्त गर्नुभयो । उहाँले टेलिभिजन स्थापनाको लागि लगानी कहाँबाट आएको छ भन्ने कुरा पनि सोच्ने प्रचलन नहुँदा टेलिभिजनहरुमा धेरै विकृति आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल टेलिभिजनको प्रभावकारीता हिजोको भन्दा अहिले झन–झन घट्दै गएको छ । प्राइभेट क्षेत्रका टेलिभिजनको कुरा गर्दा योजना विहिनता छ । एक वर्ष डेर वर्षमा ठूलो लगानीमा हल्लाखल्ला गरेर खुलेका नयाँ टेलिभिजनहरु बन्द भइरहेका छन् । एक वर्षको पनि योजना नभएको कस्तो टेलिभिजन होला । सरकारले पनि यस्ता कुराहरुमा गाइड लाइन्सहरु बनाउनुपर्छ । जसमा प्रेस स्वतन्त्रतालाई अभिव्यक्तिको लागि स्वतन्त्रता सम्पूर्ण रुपमा अक्षुण राख्दै टेलिभिजनहरुसँग वार्षिक योजनाहरु माग गर्नुपर्छ । योजना बिना टेलिभिजनहरु स्थापना गरी सञ्चालन गर्दा श्रमजीवीका समस्याहरु आइरहेका छन् । भने त्यो भन्दा डर लाग्दो कुरा अपारदर्शिता भइरहेको छ । लगानी कहाँबाट आएको छ भन्ने कुरा पनि सोच्ने चलन छैन । टेलिभिजनहरुमा धेरै विकृतिहरु छन् ।’

सहप्राध्यापक अर्यालले पछिल्लो समय नेपाली दर्शकहरु भारतीय मिडियाका चर्चित कार्यक्रमले तानेको भन्दै नेपाली मिडिया उद्यमीहरुले पनि त्यही अनुसार सोच्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले नेपाली दर्शक तान्नको लागि भएपनि भारतीय कार्यक्रमहरुमा नेपालीहरुलाई स्थान दिने गरेको बताउनु भयो । उहाँले मिडिया उद्यमीहरु पनि मिडिया व्यवसायिक सोचको हुन आवश्यक रहेको बताउनु भयो । डा. अर्यालले पत्रकारहरुले मिडिया उद्यमीहरुलाई माया गरे पनि उद्यमीहरुले मिडिया व्यवसायी नबुझ्दा पत्रकारहरु रुदै मिडिया छोड्न बाध्य भइरहेको बताउनु भयो । उहाँले अहिले मिडियाका मालिकहरु अव्यावसायीक देखिएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘अहिले अडियन्सहरु नेपाली टेलिभिजनका कार्यक्रम र उत्पादन भन्दा पनि मनोरञ्जन तथा चर्चित कार्यक्रमहरुमा गइरहेका छन् । मेड इन नेपालको छाप लगाएर अब अडियन्समा केही पनि हुँदैन । भारतले पनि नेपाली अडियन्स तान्नको लागि मेनुका पौडेल लगायतका कलाकारहरुलाई स्थान दिइरहेका छन् । त्यसैले मिडिया उद्यमीहरु पनि मिडिया व्यवसायीक सोचको हुनुपर्छ । पत्रकारहरुले मिडियाका उद्यमीहरुलाई असाध्यै माया गरे । मिडिया उद्यमीको घरमा कसैले ढुङ्गा कसैले ठोक्दा पत्रकारहरु धर्ना बस्न पुगे तर त्यो उद्यमीको सम्पति थियो । तर पत्रकारहरुले सार्वजनिक सम्पती भनेर माया गरे । तर आज मिडिया हाउसबाट मानिसहरु रुँदै निस्किरहेका छन् । अहिले मिडियाका मालिकहरु पनि असाध्यै अव्यवसायीक आफू के काम गर्र्दै छु भन्ने कुरा नबुझेका रहेछन् ।’

उहाँले मिडिया लगानी गर्नु भनेको अरुमा लगानी गर्नुभन्दा फरक हो भन्ने कुरा मिडिया उद्यमीहरुले नबुझ्दा मिडिया हाउसमा वर्तमान विभिन्न समस्या देखिएको बताउनु भयो । उहाँले वि.स.२०४६ सालपछि नेपाली मिडियामा ठूलो लगानी आउँदा मिडियाहरु संस्थागत स्वरुपमा लिए भनिए पनि अहिले त्यही संस्थागत स्वरुपमा मिडियाहरुमा श्रमजीविका समस्या बाहिर आउँदा मिडिया क्षेत्रमा अझै निराशा देखिएको बताउनु भयो । उहाँले मिडिया उद्यमीहरुले सामाजिक उत्तरदायित्व पनि सोच्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply