पाँच हजार कैदीबन्दी अझै फरार : खोजतलासका लागि कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

पाँच हजार कैदीबन्दी अझै फरार : खोजतलासका लागि कार्यदल गठन

काठमाडाैं । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरुमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ । सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार जेन–जी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ । उहाँले देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहको बताउनुभयो । उहाँले फरार कैदीहरुको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको समेत जानकारी गराउनुभयो ।

उहाँले फरार कैदीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसन समेत जारी रहेको बताउनुभयो । उहाँले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

उहाँले जेन–जी आन्दोलनका घाइतेहरुलाई परिचयपत्रसहित निशुःल्क उपचारको व्यवस्था मिलाइएको समेत बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि बताउनुभयो ।

Leave a Reply