राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । कार्यतालिका अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सुरु हुने छ । निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ ।

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचनका लागि दल दर्ता आह्वान हुने छ । दल दर्ताका लागि आयोगले एक साताको समयसीमा तोक्दै आएको छ । दर्ताका लागि प्राप्त निवेदनउपर छानबिन गरी मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्र प्रकाशन गरिने छ ।

त्यसअघि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण तथा अनुमानलगायतका काम कात्तिकभित्रै टुंग्याउनेछ । मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिने छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदैछ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो ।

कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई/दुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् । पदावधि सकिनुभन्दा करिब ४० दिनअघि निर्वाचन हुन लागेको हो ।

माघ पहिला साता प्रचारप्रसार अवधि रहने र मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मौन अवधि सुरु हुने छ । मन्त्रिपरिषद्को गत कात्तिक १२ गतेको बैठकले माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ ।

Leave a Reply