काठमाडाैं । नेकपा एमालेको दशाैँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो ।
एमालेका अनुसार आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ । प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनस्र्थापनामा जोड दिइएको छ । लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने ओलीको जोड छ ।
त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको बताइएको छ । बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुनेछ ।
एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले दशाैँ महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ । केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्ने एमालेले जनाएको छ ।





