प्रधानमन्त्री देउवाकाे कार्यकाल सफल कि असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाकाे कार्यकाल सफल कि असफल

रमेश वाग्ले
काठमाडौं, २५ माघ । सुशासन कायम गर्ने र निर्वाचन गराउने दुईवटा कार्यभार लिएर आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट विदा लिने सयम नजिक आएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचन आफ्नै समर्थनमा रहेको प्रचण्ड सरकारले गराएपछि सत्तामा पुगेका देउवाको नेतृत्वमा दुई चरण स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ । राष्ट्रियसभा निर्वाचन समेत सकाएका देउवा विदा लिँदै गर्दा उनको कार्यकालका समिक्षा भएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी थियो –देउवा चुनाव गराउनका लागि भन्दा पनि चुनाव टार्नका लागि प्रधानमन्त्री भएका हुन् । २०५८ सालमा चुनाव गराउन नसकेकै कारण तात्कालिन राजाले शासन हातमा लिएको भनेर भएका व्याख्याबाट पारंगत भएका धेरैलाई लागेको थियो –ओलीको भनाइ ठिक पनि हुन सक्छ ।

तर, विगतको छवि सुधार र संविधान कार्यान्वयन दुबैका लागि यसपटक देउवाको कार्यकाल ऐतिहासिक बनेको छ । निर्वाचन हुनु एक दिन अघि पनि एमाले अध्यक्ष ओलीले ‘सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ’ भन्न छोडेका थिएनन् । त्यसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मंसिर २१ गते डडेल्धुराबाट भोट खसालेपछि व्यङ्ग्य गरेका थिए –ओलीजिले अब पनि चुनाव सर्छ भन्न सक्छन् । हुन पनि धेरैलाई चकित पार्दै देउवाले दुवै तहको निर्वाचन एकसाथ घोषणा गर्दै एकसाथ सम्पन्न गरेका छन् । विश्लेषकहरु देउवाले एउटा कार्यभार पुरा गरेर सफलता प्राप्त गरेको बताउँछन् ।

निर्वाचन सम्पन्न गराएसँगै देउवाले विगतमा उनलाई लागेको असफल प्रधानमन्त्रीको धब्वा मेटाएका छन् । तर देउवालाई सार्वजनिक रुपमा निर्वाचन गराएको बधाइ आएपनि आफ्नै पार्टीको केन्द्रीय समिति बैठकमा भने चर्को आलोचना भयो । आफ्नो राजनीतिक करियरका लागि पार्टीलाई नैं कमजोर पारेको तथा एमाले–माओवादी तथा मधेसी गठबन्धन रोक्न नसकेको भन्दै कांग्रेसका नेताहरु नैं देउवालाई दोष दिइरहेका छन् ।

विश्लेषकहरु सुशासन दिने मामिलामा भने देउवा सफल नभएको बताउँछन् । उनीहरु देउवा मात्र नभएर त्यस अघिका प्रधानमन्त्रीहरु समेत सुशासनको मामिलामा पछि परेको भन्दै देउवा पनि त्यसको निरन्तरता नैं भएको बताउँछन् ।

शेरबहादुर देउवा विश्लेषकले भनेजस्तो प्रधानमन्त्री हुनु अगावै देखि विवादित बनेका थिए । राजदुत सिफारिस, आइजी नियुक्ति तथा महाअभियोगका कारण प्रधानमन्त्री हुनु अगावै विवादमा तानिएका देउवा प्रधानमन्त्री भएपछि भने त्यति विवादिन बनेनन् ।

तर निर्वाचन सम्पन्न भएपछि उनले गरेका केही निर्णयले उनको कार्यकालमाथि टिप्पणी गर्ने आधार खडा गरिदिएका छन् । तर निर्वाचन गराउने मुख्य कार्यभार पुरा गरेको र संविधान कार्यान्वयनका लागि संक्रमण काल अन्त्य गर्ने निर्वाचन गराएका कारण देउवा थप श्रेय लिने अवस्थामा छ्न् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);