काठमाडाैं । राष्ट्रसंघले नेपालको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले जारीगरेको विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै मुलुकको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याइएको हो ।
यो महत्त्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख छ । राष्ट्र संघले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देलका साथै युवा नेताहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ । परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
यसैगरी, छिमेकी मुलुक भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।
बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनेको छ ।
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीलाई स्वीकार गर्दै जवाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।





