ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या

काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीविरुद्ध कडा नीति लिएका छन् । ट्रम्प प्रशासनले ठूलो संख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरेको छ । सीमामा पनि कडाइ गरेको छ । अब उनको कठोर नीतिको असर देखिन थालेको छ । हालै प्यू रिसर्च सेन्टरले गरेको एक अध्ययनअनुसार अमेरिकामा बस्ने आप्रवासीहरूको संख्यामा ठूलो गिरावट आएको छ । जनवरी २०२५ देखि जुन २०२५ सम्ममा आप्रवासीहरूको संख्यामा करिब १५ लाखले कमी आएको छ ।

अमेरिकामा आप्रवासीको संख्या ५ करोड १९ लाखमा झर्‍यो
प्यू रिसर्च सेन्टरका अनुसार यस वर्षको सुरुमा अमेरिकामा कुल आप्रवासीको संख्या पाँच करोड ३३ लाख थियो । यो घटेर अहिले करिब पाँच करोड १९ लाखमा झरेको छ । प्यू रिसर्च सेन्टरको यो प्रतिवेदन बिहीबार सार्वजनिक भएको हो ।प्यू रिसर्च सेन्टरका वरिष्ठ जनसांख्यिक विद् जेफ्री पासेलले सञ्चारमाध्यमसँग भने, “हामीले हेरिरहेको तथ्यांकले एउटा नाटकीय परिवर्तन देखाउँछ ।”

आप्रवासीको संख्यामा आएको यो गिरावटले श्रम बजारमा पनि असर परिरहेको छ । प्यू रिसर्च सेन्टरका अनुसार, आप्रवासीहरूको संख्या घटेपछि सात लाख ५० हजारभन्दा बढी कामदार गुमाएको छ ।

प्रतिवेदनमा पासेलको भनाइ उदृत गर्दै भनिएको छ, “अमेरिकामा काम गर्ने उमेरका मानिसहरूको जनसंख्या बढिरहेको छैन । यसको अर्थ जनशक्ति बढाउने एक मात्र तरिका नयाँ आप्रवासीहरू आउनु हो । यदि, जनशक्ति बढेन भने अर्थतन्त्रका लागि समस्या उत्पन्न हुनेछ ।”

अवैध आप्रवासीको संख्यामा पनि कमी
पासेलले आप्रवासी जनसंख्यामा आएको यो ठूलो गिरावट अभूतपूर्व रहेको बताएका छन् । अमेरिकामा अवैध आप्रवासीहरूको संख्या पनि घट्न थालेको छ । सन् २०२३ मा यो संख्या एक करोड ४० लाख थियो ।अमेरिकामा आप्रवासीहरूको संख्यामा गिरावट आए पनि विश्वमा सबैभन्दा धेरै आप्रवासी जनसंख्या अझै पनि अमेरिकामा नै छ । अमेरिकाको कुल जनसंख्यामा आप्रवासीहरूको प्रतिशत १५।८ थियो, जुन घटेर अहिले १५।४ प्रतिशतमा झरेको छ । सबैभन्दा धेरै आप्रवासी जनसंख्या टेक्सास र क्यालिफोर्नियामा बस्छन् ।

Leave a Reply