काठमाडाैं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल—भारतबीचको खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि हुनु नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आतंकवादलाई जन्म दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको बताउनुभएकाे हाे।
अध्यक्ष महताेले आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरु रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताउनुभयो । कुनैपनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न नसकिने उहाँको भनाइ छ ।
उहाँले दक्षिण एशिया क्षेत्र भनेको आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनैपनि प्रकारका आतंक हुन नहुनेमा जाेड दिनुभयाे । उहाँले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको जिकिर गर्नुभयाे ।
अध्यक्ष महताेले पूर्वीय सभ्यता र दर्शनलाई दुनियाँले आत्मसाथ गर्न जरुरी रहेको बताउनुभयो ।





