अख्तियारका प्रमुख आयुक्त राईमाथि महाभियोग लगाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

अख्तियारका प्रमुख आयुक्त राईमाथि महाभियोग लगाउन माग

काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणामार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले दलहरूबीचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबीच समेत विश्वासको संकट बढेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउन समेत सदस्यहरुले माग गरेका छन् ।

नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन् । राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको उनको भनाइ छ । उनले सामान्य काम गर्नका लागिसमेत कर्मचारीहरुले टेबुलमुनिबाट कारोबार गर्ने गरेको आरोप लगाइन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेशको खानेपानी तथा सिँचाईको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने बताए । उनले मधेशको सुख्खापनको समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले जनताको आधारभुत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको आरोप लगाए । दुई तिहाईको बहुमतले बनेको वर्तमान सरकारका प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्यूनीकरण गर्न नसकेको उनको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुषालले सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रष्ट क्षेत्र घोषणा गरेपनि त्यसअनुरुप काम गर्न सजिलो नभएको बताए । मधेशमा पाँच सय डिप बोरिङ जडान गर्न सरकारले गरेको घोषणा कार्यान्वयन गर्न मुश्किल रहेको बताए । एउटा डिप बोरिङ जडान गर्न कम्तीमा दुई महिनाको समय र एउटा बोरिङका लागि एक करोड खर्च हुने उनको भनाइ छ । वास्तविक गर्नुपर्ने काम नगरी अव्यवहारिक रुपमा बजेट खर्च गर्ने गरी सरकारले गरेको घोषणा सफल नहुने उनको दाबी छ । उनले डिप बोरिङ जडान गर्नुको साटो नदीमा बगेर खेर गइरहेको पानीको व्यवस्थापन गरी खेतबारीमा पुर्याउने बेवस्था गर्न सरकारको ध्यानकर्षण गराए ।

सांसदहरुले मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । सांसदहरुले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

 

Leave a Reply

ताजा समाचार