-कविना बलामी
काठमाडाैं । बर्खायाममा बढ्दो बाढीपहिराको जोखिमका कारण हरेक वर्ष सडक यात्रा चुनौती बनिरहेको छ । कतिपय यात्रुहरु जोखिमको मूल्याङ्कन नगरी यात्रा गर्ने र समस्यामा परिसकेपछि सरकारले सावधानी र पूर्वतयारी नगर्दा यस्तो भयो भनेर सरकारलाई दोष दिने गरेको देखिन्छ । सम्भावित जोखिमको आँकलन गरी यात्रु स्वयं पनि आफ्नो सुरक्षाका लागि जिम्मेबार हुनु आवश्यक छ ।
बर्खायाम शुरु भएसँगै देशभरका राजमार्गहरु बाढीपहिराको उच्च जोखिममा परेका छन् । सडकमा हुने जामका कारण गण्तव्य नपूगी अलपत्र पर्ने अवस्था दिनहुँ जस्तो भइरहेका छन् । यस्तो समयमा यात्रा गर्ने यात्रुहरुलाई निश्चित रुपमा समस्या भइएरहेको छ, तर यस्ता समस्याको सम्पूर्ण दोष सरकारलाई मात्र दिनु उचित हुँदैन ।
हामीले सरकारतर्फ औँलो ठड्याउने बानी त बनाइ सकेका छौँ तर यथार्थ यो हो कि बर्खायाम हरेक वर्ष आउँछ, हरेक वर्ष यस्ता समस्या दोहोरिन्छन् । हरेक वर्ष यात्रुहरु पूर्वजानकारी र पूर्वतयारी विनानै यात्रा गरिरहेका हुन्छन् । उनीहरुको अनुहारमा गन्तव्यमा पुग्ने हतारो देखिन्छ तर सडकको अवस्था कस्तो छ भन्ने जिज्ञासा भने पाइँदैन ।
यात्रुहरुले आफ्नो सुरक्षाको जिम्मा सरकारलाई मात्र दिएर पन्छिन मिल्छ ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । सहज यात्राका लागि सवारी चालक र यातायात व्यवसायीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खराब मौसममा पनि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना अझै बढाएको यात्रुहरुको बुझाइ छ ।
सडक यात्रा सुरक्षित बनाउने जिम्मा केवल सरकारको मात्र नभइ सवारी चालक तथा यातायात व्यवसायी पनि उत्तिकै जिम्मेवार बन्नु आवश्यक छ । कतिपय चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति बढेकाले पनि दुर्घटनाको जोखिम बढेको यात्रुहरुको भनाइ छ ।
हरेक वर्ष बर्खाको समयमा यस्ता समस्या दोहोरिनु सरकारको कमजोरी त हो नै, तर यात्रुहरुको लापरबाही, चालकको असावधानी तथा यात्रु र चालकमा चेतनाको अभाव पनि उत्तिकै जिम्मेवार छन् । जबसम्म आफ्नो कामप्रति जिम्मेबार भइँदैन तबसम्म यस्तै कष्टकर यात्रा गर्न बाध्य हुनेपर्ने भएकाले सबैले आआफ्ना भूमिकामा सजगता अपनाउनु पर्ने देखिन्छ । माउण्टेन टेलिभिजन एचडीका लागि कविना बलामी





