सडक सुरक्षामा सरकारी उदासीनता : चाडपर्वमा बढ्दो दुर्घटनाको जिम्मेवार को ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

सडक सुरक्षामा सरकारी उदासीनता : चाडपर्वमा बढ्दो दुर्घटनाको जिम्मेवार को ?

दशैँको समयमा राजधानी काठमाडौंलगायत देशभरका प्रमुख शहरहरूबाट आफ्नो जन्मघर फर्किने यात्रुको चाप अत्यधिक हुने गर्छ । तर पुराना जीर्ण सवारी साधन, क्षमताभन्दा बढी यात्रु, अनियमित यातायात सेवा र कमजोर सडक संरचनाका कारण हुने दुर्घटनामा वर्षेनी सयौँ यात्रुले ज्यानसमेत गुमाउनु परेको छ । सरकारले सडक करवापत उठाएको रकमलाई सडक मर्मतसम्भार तथा स्तरोन्नत्तिमा खर्च गरी यात्रुलाई सहज यात्राको व्यवस्था गर्नु आवश्यक छ । 

 

नेपालीहरुको सबभन्दा ठुलो र मुख्य चाड हो दशैँ, जसले पारिवारिक माया, संस्कार र एकताको भावना झल्काउँने गर्छ । रोजगारी तथा व्यवसायका लागि राजधानी काठमाडौंलगायत देशभरका विभिन्न शहरमा पुगेका नेपालीहरु दशैँ मनाउन आफ्नो जन्मघर फर्किने क्रम हरेक वर्ष दोहोरिन्छ । तर हरेक वर्षको चाडसँगै एउटा दुःखद् र दोहोरिरहने यथार्थ पनि आउँछ सडक दुर्घटनाका समाचार । दशैँको समयमा यात्रुको चाप अत्यधिक हुने हुँदा पुराना सवारी साधनको आवश्यक मर्मतसम्भार नगरी सडकमा पठाउनु तथा खचाखच यात्रु कोच्ने जस्ता कारणले हरेक चाडपर्वमा यात्रुहरु दुर्घटनाको शिकार हुने गरेका छन् ।

सरकारले सडक कर, इन्धन कर, सवारी कर लगायतका शीर्षकमा नागरिकबाट अर्बौ रकम संकलन गर्ने गरे पनि त्यो रकम सडक मर्मत, स्तरोन्नति र यातायात सुरक्षामा खर्च भएको देखिँदैन । जनताबाट उठाइएको करको रकम नेताहरुको सुविधा, तलब भत्ता र विलासी सवारी साधनमा खर्च भइरहेको प्रष्ट देखिन्छ ।

यात्रा गर्ने प्रमुख साधन बस र माइक्रो बस हुन् । यात्रुको चाप र सवारी साधनको अभावका कारण स्थानीयस्तरमा सञ्चालन हुने पूराना सवारी साधनलाई लामो रुटमा चलाउनुपर्ने बाध्यता यातायात व्यवसायीमा पनि छ । बाहिर रङरोगन गरेर टिलिक्क बनाए पनि धेरै पूराना सवारी साधनहरुका इञ्जिन जिर्ण भइसकेका हुन्छन् । त्यस्ता जिर्ण सवारी साधनमा क्षमताभन्दा बढी यात्रु चढाउनु, समय तालिकाको बेवास्ता गरेर तिब्र गतिमा चलाउनु जस्ता समस्याले दुर्घटना निम्त्याएको विगतका कटु यथार्थ छन् । जिर्ण बनेका साँघुरा सडक, चालकको थकान, सवारी साधनको खराब अवस्था, अत्यधिक यात्रु संख्यालगातका कारण बढी दुर्घटना हुने गरेको देखिन्छ ।

सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्न आवश्यक छ । चाडपर्वअघि सवारी साधनहरूको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्छ, जीर्ण र चलाउन लायक नभएका साधनहरु सञ्चालनमा रोक लगाउनुपर्छ । यातायात विभाग, ट्राफिक प्रहरी र सम्बन्धित निकायले संयुक्त निरीक्षण टोली बनाएर नाका तथा प्रमुख सडकहरूमा नियमित अनुगमन गर्नुपर्छ । यात्रुको सुरक्षाका लागि सवारी साधानमा प्राथमिक उपचारका सामग्रीसमेत अनिवार्य व्यवस्था गर्नु आवश्यक छ ।

सरकारले सडक करवापत उठाएको रकमलाई सडक मर्मतसम्भार तथा स्तरोन्नत्तिमा खर्च गरी यात्रुलाई सहज यात्राको व्यवस्था गर्नु आवश्यक छ । गुणस्तरीय सामग्रीको प्रयोग गरेर स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वयमा राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकहरुको स्तरोन्नति गर्नु जरुरी छ ।

Leave a Reply