काठमाडाैं । अन्तर्राष्ट्रिय स्तरमा गति लिइरहेको नेपाली महिला फुटबलको यात्रामा विवाद उत्पन्न भएको छ । महिला फुटबलले पहिलो पटक पाएको विदेशी प्रशिक्षककै सेरोफेरोमा विवाद केन्द्रित छ । एएफसी महिला एसियन कप छनोटमा समस्या आउनुको मुख्य कारण प्रशिक्षक प्याट्रिक डे वाइल्ड रहेको अन्य अफिसियल आरोप लगाएका छन् ।
उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा नेपाली महिला टोलीको शानदार प्रदर्शनको चर्चा सेलाउन नपाउँँदै टोलीका पदाधिकारीको असन्तुष्टि छताछुल्ल भएको छ । पत्रकार सम्मेलन गर्दै हेड अफ डेलिगेट्स अखिल नेपाल फुटबल संघ एन्फाकी केन्द्रीय सदस्य सरिला श्रेष्ठ मालेकु, व्यवस्थापक विन्द्रा देवान, सहायक प्रशिक्षक राजेन्द्र तामाङ र प्राविधिक निर्देशक हरि खड्काले एकै स्वरमा प्रशिक्षक डे वाइल्डकै कारण समन्वयमा समस्या रहेको बुझाउन कोशिस गरे।
उनीहरुले डे वाइल्डले व्यवस्थापनमा कमजोरी, खेलाडीप्रतिको बेवास्ता र आधारभूत सुविधा नपाएको आरोप लगाए । सावित्रा भण्डारी ‘साम्बा’कप्तान हुँदा कुनै समस्या नभएपनि मुख्य प्रशिक्षकले कप्तानको नाम समयमा जानकारी नदिदा समस्या रहेको सबैको भनाइ छ । लाओसको खेलअघि केही तनाब भएको स्वीकार गरिन् ।
उज्वेकिस्तानबाट बेल्जियम फर्केका प्रशिक्षक वाइल्डले एन्फालाई पठाएको पत्रमा भने त्यसको विपरीत व्यवस्थापकलाई कप्तानको नाम होटलबाट बाहिर आउदा नै दिएको दाबी गरेका छन् । व्यस्थापक र हेड अफ डेलिगेट्सले रनेुका मगरको नाम पठाएकोले खेल शुरु हुनु अगाडि कप्तानको विषयमा चर्काचर्की परेको उनले पत्रमा उल्लेख छ । एन्फाका प्राविधिक हरि खड्काले डे वाइल्डले असन्तुष्टि पहिले एन्फासँग राख्नुपर्नेमा जोड दिए । प्रशिक्षकले पठाएको पत्र स्मरण गर्दै लक्ष्यमा केन्द्रित हुने सुझाव दिएपछि स्वीकार गरेको पनि खड्काले बताए ।
व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षकसँगको असन्तुष्टि व्यक्त गरे ।
यसबाट उज्वेकिस्तानमा नेपाली महिला टोलीले पदाधिकारीबीचको तनाव बोकेर मैदानमा उत्रिएको प्रष्ट हुन्छ । अन्तिम खेलमा उज्वेकिस्तानसँग टक्करको प्रतिस्पर्धा हारेर एएफसीमा छनोट हुनबाट बन्चित खेलाडीहरु भने यो विवादको शिकार हुनु हुदैन । विवाद टुग्याएर महिला फुटबलले लिइरहेको उचाइलाइ अझ माथि लैजाने जिम्मेवारी भने अखिल नेपाल फुटबल संघ एन्फाको नै हो ।





