काठमाडाैं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताउनुभएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताउनुभएकाे हाे ।
सांसद सिंहले जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनेको तर प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको भन्दै अनुसन्धानको माग गर्दै उहाँले भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न आग्रह गर्नुभयो ।
सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरु बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गर्नुभयो ।





