नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजार विदेशी पर्यटक आए, यो संख्या सन् २०१९ को भन्दा केही कम भएपनि कोभिड-१९ महामारीपछिका वर्षहरुको तुलनामा उत्साहजनक सुधार
हो ।
–मोहनप्रसाद मैनाली
कोभिड उन्नाइसकोे महामारीले सन् २०२० मा विश्वव्यापी रुपमा पर्यटन क्षेत्रलाई ठप्प बनायो, नेपाल पनि अछुतो रहेन । पर्यटनसँग जोडिएका होटल, ट्राभल एजेन्सी, गाइड र हजारौँ रोजगारी तत्काल गुम्यो । ठमेलका गल्लीहरू सुनसान भए, पोखराका डुङ्गा थन्किए, लुम्बिनीमा शान्तिको खोजी गर्न आउने तीर्थयात्रीहरू हराए, लुम्बिनी शान्त रह्यो ।
तर, अब नेपालमा साहसिक, धार्मिक र सांस्कृतिक पर्यटन फेरि चलायमान हुँदैछन्, अँध्यारो समय बिस्तारै हट्दै गएको छ । नेपाल फेरि खुल्दैछ । नेपाली पर्यटन व्यवसाय फेरि जीवन्त हुन थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा नेपालमा ११ लाख ४७ हजार विदेशी पर्यटक आए, यो संख्या सन् २०१९ कोभन्दा केही कम भएपनि कोभिड–१९ को महामारीपछिका वर्षहरुको तुलनामा उत्साहजनक सुधार हो ।
विदेशी पर्यटकहरू फेरि हिमाल चढ्न, पदयात्रा गर्न, संस्कृति बुझ्न र शान्तिको अनुभूति लिन नेपाल आउन थालेका छन् । साहसिक पर्यटन, धार्मिक भ्रमण र प्राकृतिक सौन्दर्यको खोजीमा उनीहरू धमाधम नेपाल भित्रिरहेका छन् । आन्तरिक पर्यटन पनि उल्लेखनीय रूपमा बढेको छ । युवा पुस्ता सामाजिक सञ्जालमा देखिएका दृश्यहरू पछ्याउँदै लाङटाङ, रारा, खप्तड, मुगु पुग्न थालेका छन् ।
नेपाल फेरि विश्वमाँझ नेपालीको आँखाबाट चिनिँदैछ । पर्यटनलाई पुनर्जीवन दिनका लागि नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्मका लागि नेपाल भ्रमण दशक घोषणा गरेको छ भने वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । लक्ष्य हासिल गर्न सरकारले पर्यटकीय गन्तव्यस्थल पुग्ने पूर्वाधार सुधारका काम गरिरहेको छ । पोखरा क्षेत्रीय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका आन्तरिक विमानस्तलहरु सञ्चालनमा ल्याइएका छन्, विदेशी पर्यटकका लागि ई–भिसालगायत अनलाइनमार्फत् विभिन्न सुविधाहरु सहज बनाइएको छ ।
अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई प्रस्तुत गरिँदैछ । डिजिटल प्रवर्द्धन, सामाजिक सञ्जाल, वेबसाइटमार्फत् नेपालको ब्रान्डिङ गर्ने काम भइरहेको छ । होमस्टे पर्यटन, ग्रामीण गन्तव्यहरू र सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय तहको सहकार्य बढाइएको छ । दिगो पर्यटन नीतिहरू निर्माणका लागि सरकारले कामहरु अघि बढाइरहेको छ ।
पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र पनि सक्रिय छ । होटल संघ नेपाल हान, ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल टान, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट नाट्टालगायत विभिन्न संस्थाहरूले अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गरिरहेका छन् । छुट प्याकेज, अनलाइन बुकिङ, डिजिटल गाइड, भर्चुअल टुर जस्ता सेवाहरू विकास गरिरहेका छन् । ग्रामीण पर्यटन र स्थानीय समुदायमा आधारित परियोजना अघि सारेका छन् ।
गन्तव्यहरू फेरिँदै छन् । पोखरामा पर्यटक पुग्न थालेका छन् । काठमाडौं उपत्यकाका पुराना दरबार तथा मठमन्दिरहरु पुनर्निमाण भएपछि पर्यटकको आकर्षण बढेको छ । लुम्बिनीमा नयाँ बौद्ध मठहरू थपिँदै छन्, धार्मिक पर्यटन विस्तार भइरहेको छ । सोलुखुम्बुमा फेरि पदयात्राको चहलपहल शुरु भएको छ । चितवनमा जिप सफारी र हात्ती सफारी फर्किएका छन् । रारा, खप्तड, इलाम, मुगुलगायतका गन्तव्यहरु स्वदेशी तथा विदेशी युवा पुस्ताको रोजाइमा पर्न थालेका छन् ।
नेपालको पर्यटन अझ बलियो र स्थायी बनाउन स्थानीय संस्कृतिको पहिचान र सम्मानसहितको दीगो पर्यटन रणनीति अवको आवश्यकता हो । गाइडहरू, होमस्टे सञ्चालकहरू, ट्राभल एजेन्सीका कर्मचारीहरूका लागि व्यावसायिक तालिम आवश्यक छ । पर्यटकको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । डिजिटल मार्केटिङमा नेपाल थप अघि बढ्नु आवश्यक छ । सामाजिक सञ्जालहरुमा ‘भिजिट नेपाल’ ब्राण्ड बलियो बनाउनु आवश्यक छ । सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय साझेदारहरूबीच सशक्त साझेदारी आवश्यक छ । दिगो, आत्मनिर्भर र समावेशी पर्यटनतर्फ लाग्नु आवश्यक छ ।
नेपालसँग अद्भुत सम्पदा छ, हिमाल छ, संस्कृति छ, जैविक विविधता छ र सधैँ मुस्कुराउने आतिथ्यभाव भएका हामी नेपाली छौँ । यिनै सम्पदालाई विश्वसामु प्रस्तुत गर्ने बुद्धिमत्तापूर्ण तरिका अपनाउन सक्यौँ भने लक्ष्य भेट्ने छौँ, गन्तव्यमा पुग्नेछौँ, पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सक्नेछौँ ।





