काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न फ्रान्स जान लागेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएकाे हो ।
मन्त्री पाण्डेले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताउनुभयो । उहाँले सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न विगन लामो समयदेखि पहल गरिरहेको बताउनुभयो ।
सूचीकृत गर्नका लागि २१ वटा देश सम्मिलित कमिटीमा कमिटीको बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । त्यसमा एशियाबाट भारत, कतार, जापान, कोरिया लगायतका देशहरु रहेको मन्त्री पाण्डेले बताउनुभयो ।
तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक शहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था रहेको उहाँकाे भनाइ छ । आफू त्यसका लागि ७ तारिकदेखि पेरिस जान लागेको बताउनुभयाे ।





