शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यक : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यक : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताउनुभएको छ । लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको सहकार्यलाई सुदृढ बनाउने कुरामा जोड दिँदै सरकार र व्यवस्थापिकाले बनाएका नीति तथा कानूनहरु कार्यान्वयन लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रको रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गर्नुभयो ।

‘शासन व्यवस्था प्रभावकारी रुपमा सञ्चालनका लागि सरकार र प्रशासनको भूमिका महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले नेतृत्वले आवश्यक नीति निर्माण गर्ने, व्यवस्थापिकाले कानून बनाउने र प्रशासन संयन्त्रले त्यसको कार्यान्वयनमा लागि सूचना संकलन गर्ने तथा सहयोग गर्ने गराउने बाध्यता भएका बताउनुभयाे ।

‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको समिपमा रहेर काम गर्ने संस्था हो । कुनै पनि मुलुकको सरकारको कार्यसफलता कर्मचारीको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ ।’ उहाँले भन्नुभयाे, ‘मुलुक सञ्चालनका लागि आवश्यक कर्मचारी योग्य, दक्ष र निपूर्ण हुनुका अतिरिक्त स्वस्थ पनि हुनुपर्छ । लोक सेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी तथा वस्तुनिष्ट तवरले कर्मचारी छनोट गर्न सक्दछ । मुलुकको प्रशासनिक संयन्त्र त्यति नै बलियो र प्रभावकारी हुँदै जान्छ ।’

प्रधानमन्त्री ओलीले आयोगले मुलुकको प्रशासनिक संयन्त्र सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयाे ।

Leave a Reply