पौष २६ शुक्रबार
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले एमाले विभिन्न पार्टीसँग एकीकरण गर्ने नीति नभएर मर्जर गाभ्ने नीतिका साथ अगाडि बढिरहेको बताएका छन् । स्ववियु निर्वाचनको तयारीका सन्दर्भमा अनेरास्ववियुले बिहीबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले विभिन्न पार्टीसँग एकीकरण गर्ने नीतिलाई परिमार्जन गरेर गाभ्ने नीति अख्तियार गरेको प्रस्ट्याए ।
अहिलेसम्म एकीकृत भएको ५७र५८ वटा संगठन भइसक्यो होला । त्यसयता हामीले एकीकरण भन्ने कुरा छाडिदिएका छौँ । खासगरी ०७८ मा जब प्रचण्ड र माधव नेपालले पार्टी फुटाए, त्यसपछि एकता, एकीकरणको चरण समाप्त भयो । हामी आफ्नो पार्टी विस्तार गर्छौँ । कोही आउँछ भन्ने मिल्न आउँदा हुन्छ, मर्ज गर्न आउँदा हुन्छ एमालेमा,’ ओलीले भने, ‘एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा नीति अलिकति मान भनेर नीति बन्दरबाड गर्ने अनि संगठनमा योग्यता नभएका मान्छे म स्थायी सदस्य हुँ भन्छ एउटा भुरो र त्योसँग वार्ता गर्नुपर्ने । त्यसो भए पोलिटब्युरोमा बस भन्ने खालका बार्गेनिङ चल्दैन । पार्टीले निर्णय गरेर कुन ठाउँमा राख्नुपर्ने हो, त्यो ठाउँमा राख्ने काम गर्छ । बार्गेनको लफडामा छैनौँ ।’ओलीले एमाले आफ्नै पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने एजेन्डालाई प्राथमिकता दिएर अगाडि बढेको भन्दै उनले समाजवादको एजेन्डाका नाममा आफंँबाट फुटेको एकीकृत समाजवादीसँग एकता गर्ने पक्षमा नरहेकोसमेत संकेत गरे ।