पार्टी एकीकरणबारे राजपामा दुई धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टी एकीकरणबारे राजपामा दुई धार

rajapa

काठमाडौं, १३ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समाजवादी पार्टीसँग एकता गर्ने वा पार्टीको महाधिवेशन गर्ने भन्ने कार्यसूचीमा छलफल गर्नका लागि बोलाइएको राजनीतिक समितिको बैठक स्थगित गरेको छ ।

राजपा नेपालको अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवासमा बिहीबार बसेको अध्यक्षमण्डलको बैठकले राजनीतिक समितिको बैठक स्थगित गर्ने निर्णय गरेको हो । समाजवादी पार्टीसँग एकीकरण तथा महाधिवेशनका लागि छलफल गर्न शुक्रबार राजनीतिक समितिको बैठक बोलाइएको थियो ।

अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बैठक बोलाउँदा पार्टीमा विवाद भएको थियो । सल्लाह नै नगरी बैठक बोलाइएको भन्दै पार्टीभित्र विभिन्न आरोप–प्रत्यारोप सुरु भएपछि सहमतिका आधारमा एक दिनका लागि बैठक स्थगित गरिएको पार्टीका सचिव सञ्जय यादवले जानकारी दिनुभयो ।

शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजनीतिक समितिको कार्यसूचीबारे छलफल गर्ने अनि शनिबार बैठक बस्ने छलफल भएको उहाँले जानकारी दिनुभयो । समाजवादी पार्टीसँगको एकीकरण कार्यसूची लामो समयदेखि अनौपचारिक वार्ता भए पनि हालसम्म कुनै निष्कर्ष निस्केको छैन । समाजवादी पार्टीसँग एकीकरण गर्नेबारे स्पष्ट पार्नका लागि राजनीतिक समितिको बैठक बोलाइएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताउनुभयो ।

दुई दिनसम्म चल्ने राजनीतिक समितिको बैठकमा विभिन्न दलसँगको एकीकरण, आगामी महाधिवेशन, संसद्मा पार्टीको भूमिका, प्रदेश २ को सरकार सञ्चालनलगायतका विषयमा छलफल हुने बताइएको छ । समाजवादी पार्टीसँग एकीकरण गर्ने कि नगर्ने विषयमा राजपा नेपालमा दुइटा पक्ष देखिएको छ । एउटा पक्षले पार्टीको महाधिवेशन सम्पन्न गरेर समाजवादी पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउने भनेको छ भने अर्को पक्षले पहिला एकीकरण गर्ने अनि मात्र एकताको महाधिवेशन गर्ने भनेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);