परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

२०८१,८,१५

परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच चीनको छेन्दु शहरमा भेटवार्ता भएको छ ।हिजो भएको भेटवार्तामा उहाँहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो ।

मन्त्री राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो ।त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवम् प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले दुई देशबीचको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवम् सम्झौता हुने विभिन्न आयोजना एवम् सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।

भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिकलगायतका क्षेत्रमा चीनले पुर्‍याउँदै आएको सहयोग, आउँदा दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रहरूको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिने बारेमा कुराकानी भएको थियो ।चिनियाँ विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा परराष्ट्रमन्त्री राणा अस्ति बिहीवार छेन्दु पुग्नुभएको हो । प्रधानमन्त्री ओली पर्सि सोमवार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);