२०८१,५,१
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे विवाद भएपछि बैठक पटक पटक सारिँदै आएको छ। गत साउन २३ गतेदेखि सुरु भएको बैठक पछिल्लो पटक भदौं १२ गते बोलाइएको थियो तर सहमति नभएपछि बैठक चार दिन पछि सारिएको थियो।
यसअघि शनिबार सभापति देउवा निवास बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको बताइएको छ। सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग प्रतिवेदनको विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सार्दै आइएको छ। एक पदाधिकारीका अनुसार दुई महामन्त्रीको प्रतिवेदनमा परिमार्जन गरेर पारित हुने छ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ।
अहिले दुवै प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।