काठमाडौं,२९ चैत्र । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गर्नुभएको छ । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित दिएको निवेदन अनुसार प्रदेश प्रमुख खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गर्नुभएको हो ।
२६ चैतमै मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिनु भएको थियो । दुई दिन परामर्श गरेर प्रदेश प्रमुख खापुङले ६ बैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गर्नु भएको हो ।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बुधबार कडेलले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त हुनेभएको हो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका सभामुख बाहेक ९ प्रदेश सांसद छन् ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसदको समर्थन पाएपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार नै दाबी पेश गर्नुभएको थियो । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ ।