काठमाडौं,२९ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ । बुधवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताउनु भयो । उहाँले काँग्रेसले शुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रश्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताउनु भयो । उहाँले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसद लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध नै भएको त दुई तीन दिन भयो । तर त्यहाँ प्रश्नहरु उठिरहेका छन् । खासगरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरु उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ । समग्र विषयको छानबिन गर्नेकुरामा त कुनै अन्यथाको कुरा भएन । जुन बेलाबाट सहकारीभित्र समस्या देखापरे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन । तर शुरुवातमा नेपाली काँग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढंगले प्रश्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन । यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्नेकुरा नै हो । एकातिर प्रधानमन्त्रीको प्रश्ताव गर्न गएको भन्नेकुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्नेकुरामा यस्तो खालको राजनीति हुँदैन । यस्तो राजनीति गर्नु हुँदैन भन्ने नै हो सरकारको कुरा ।’
मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताउनु भयो । उहाँले अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बन्नुपर्छ, किनभने अनलाइन मिडिया आइसके, न्यु मिडियाहरु आइसके, सबैलाई पनि हामीले प्रोत्साहित पनि गर्नुपर्छ, उनीहरुलाई सेवा शुल्क पनि दिनुपर्छ । उनीहरुलाई नियमन पनि गर्नुपर्छ भन्ने ढंगले हामी अघि बढेको छौँ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक छ । हाम्रो अम सञ्चारको क्षेत्र पुनः संरक्षित हुन्छ । अहिले हामी बजेटको पूर्वसन्ध्यामा भएको हुनाले मन्त्रालयमा छलफल गरिरहेका छौँ । मोफसलमा पत्रकारिता गर्नेकुरा धेरै नै चुनौतिपूर्ण छ । धेरै नै अफ्ठयारो छ ।’ उहाँले पत्रकारिता गर्नेकुरा चुनौतिपूर्ण रहेको पनि बताउनु भयो ।