काठमाडौं,१६ फागुन । विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भारत देवरियाका सुनिल कुमार सिंहलाई दोषी ठहरसहित सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरु खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपहरण तथा शरिर बन्धकको मुद्दामा दोषी ठहर भएका सिंहलाई गलत ढंगले आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले सिंहसहित मीना कार्कीले पनि सम्पत्ति लुकाउन सहयोग गरेको ठह¥याएको छ । उनीहरुले अपराधबाट आर्जन गरेको रकम घरजग्गा खरिदबिक्रीमा लगानी गरेको देखिएको भन्दै कसुरमा संलग्न भएको निष्कर्षसँगै कसुर निर्धारणका लागि २४ फागुनमा पेश गर्न अदालतबाट आदेश भएको छ । उनीहरुविरुद्ध २४ फागुन, २०७९ मा मुद्दा दायर भएको हो ।
सुनिल कुमार सिंह विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएर गैरकानूनी रुपमा सम्पत्ति जोडेको, अपहरण तथा शरीर बन्धक, अवैध हातहतिरयार र झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको लगायतका आरोप सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लगाएको छ ।
विभागले सिंह सहित उनकी श्रीमती मिना कार्कीले विभिन्न बैंक तथा वित्तिय संस्थामा १८ वटा खाता खोली रकम संकलन गरेको आरोप लगाउँदै सुनिलमाथि एक करोड ५५ लाख र मिना कार्कीमाथि एक करोड ६० लाख रुपैंया विगो मागदावी गरेको छ ।