खिइँदै मधेस केन्द्रित दलहरू | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

खिइँदै मधेस केन्द्रित दलहरू

काठमाडौं,१५ फागुन । तराई मधेस राजनीतिको मूल मियो बन्ने उद्घोषका साथ स्थापना भएको मधेस केन्द्रित राजनीतिक दल खिइँदै जाँदा अस्तित्व संकटको अवस्थामा पुगेको छ।

मधेसको राजनीतिमा वर्चस्व जमाउन खोजेको मधेसी जनअधिकार फोरमबाट विभाजन भएर दल दर्ता गराएका नेताहरूले ती पार्टीलाई समेत टुक्राटुक्रामा विभाजन गराएर संकटपूर्ण अवस्थामा पुर्‍याएका हुन् ।

२०७४ सालमा ६ वटा दलहरू मिलेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पछिल्लो तीन महिनायता परिवारिक भागबन्डाको चपेटामा थियो। सो दलका वरिष्ठ नेता राजेन्द्र महतोले सोमबार पार्टीबाट विद्रोह गरेसँगै लोसपा फेरि संकटको भुमरीमा फसेको छ।

प्रतिनिधि सभामा चार सिट रहेको उक्त दलका नेता महतोले पार्टी परित्याग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको आह्वान गरेर मधेस केन्द्रित दलहरूको हैसियत थप खिइँदै जाने पुष्टि गर्नुभएको छ ।

साढे दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेतृत्वको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी फुटाएका महन्त ठाकुर, राजेन्द्र महतो र शरद्सिंह भण्डारीले पार्टीमा एकलौटी कब्जा जमाएर आफन्त भर्ती गर्ने केन्द्र बनाएको आलोचना खेप्दै आएका थिए।

पार्टीका शीर्ष नेताहरूले पदाधिकारीमा आफ्नै परिवार र नातागोतालाई भागबण्डा लगाएर पारिवारिक कब्जा गरिएको लोसपाभित्र आन्तरिक विवाद छताछुल्ल भए पनि नेता राजेन्द्र महतोले आधिकारिक रूपमा अलग भएको घोषणा सोमबार गर्नुभयो। उहाँले पत्रकार सम्मेलनमार्फत् तीन पृष्ठको ‘विशेष वक्तव्य’ वाचन गर्दै नयाँ आह्वान गर्नुभएको छ।

आन्दोलनको पूर्वतयारीस्वरूप काठमाडौंसहित काभ्रे, धादिङ, सिन्धुलीका विभिन्न ठाउँमा गोप्यरूपमा प्रशिक्षण चलाउँदै आउनुभएको छ। माघ ५ गते नै आन्दोलन घोषणा गर्ने तयारी भए पनि गृहकार्य पूरा नभएका कारण स्थगित गरिएको थियो। यसबीचमा महतो दुईपटक भारत गएर छलफल गर्नुभएको छ।

महतो लोसपाको पार्टी कार्यालय जान छाडेको चार महिना भइसकेको लोसपाका नेताहरूले बताएका छन्। दुई महिनादेखि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच बोलचाल बन्द थियो। सरकार छाडेर आन्दोलनमा जाने महतोको आग्रहलाई ठाकुरले अस्वीकार गरेसँगै दुई नेताबीच विवाद शुरू भएको नेताहरूले बताएका छन्।

यद्यपि, पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्दा दुवै नेताबीचको सहमतिअनुसार नै परिवारका सदस्य र आफन्तलाई पदाधिकारी बनाएको महासचिव विनोद सिंहले बताउनुभयो । अध्यक्ष ठाकुरले एकलौटी गरेर आफन्तलाई पदाधिकारी बनाएको भन्दै महासचिव बनाइएका महतोका ज्वाइँ अनिल महासेठले राजनीनामा दिनुभएको थियो ।

३११ सदस्यीय पुनर्गठित केन्द्रीय समितिमा ६३ जना पदाधिकारी बनाइएको थियो । अध्यक्ष ठाकुरले गठन गरेको केन्द्रीय समितिप्रति असहमति जनाउँदै आएका महतोले पार्टीबाट विद्रोह बताउनुभयो।

‘अब पुरानै विचारले मुलुक चल्दैन्’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राजनीतिक, आर्थिक, सामाजिक एजेन्डासहित विद्रोह गरेको छु । अब हेर्दै जानुस् कांग्रेस एमालेका सबै कार्यकर्ता मसँगै हुन्छन् ।’

अहिले अभियानमा लाग्ने भन्दै उहाँले एक चरणको आन्दोलन गरेपछि ठूला भनिएका पार्टीका सबै कार्यकर्तालाई लिएर पार्टी गठन गर्ने योजना रहेको बताउनुभयो ।

‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै वर्ग, समुदाय, धर्म, जात–जाति, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नका आवश्यक छ। त्यसका लागि विगतमा जस्तै फरकफरक क्षेत्रका जनता एक्लाएक्लै लडेर हुँदैन सबै एकजुट हुनुपर्छ ।’

यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने उहाँको तर्क छ। लोसपा केन्द्रीय समितिमा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीले छोरी ज्वाई, सम्धी, सम्धिनीलगायतका आफन्तहरूलाई भाग लगाएका थिए।

पार्टीबाट बाहिरिएका महतोले यसो भन्दै गर्दा तराई मधेस केन्द्रित राजनीतिक दलहरू टुक्राटुक्रामा विभाजित भएर संकटपूर्ण अवस्थामा पुगेको तराईको राजनीतिलाई नजिकबाट नियालेका राजनीतिक विश्लेषकहरूले बताएका छन्। समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);