महाशिवरात्री भगवान शिवको पूजाआराधना गरेर मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

महाशिवरात्री भगवान शिवको पूजाआराधना गरेर मनाइयो

सत्यनारायण मानन्धर ||
रुपन्देही, फागुन २५ ||
हिन्दूहरुको ठूलो पर्व महाशिवरात्री भगवान शिवको पूजाआराधना गरेर मनाईएको छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले नदी–तलाउमा स्नान गरी पवित्र भई शिवरात्री मनाउने गर्छन् । शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । आजको दिन भगवान महादेवलाई जाडो हुने भएकाले घरघरमा गई दाउरा मागेर धुनी जगाउने प्रचलन समेत छ ।यो दिन भगवान् शिवको पुजा आराधना गरे मात्र पनि जीवनमा सधैँ सुख प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । यस दिनलाई भगवान भोलेनाथलाई खुसी बनाउने खास दिनका रूपमा पनि लिने गरिन्छ । भगवान् भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रसन्न हुने जन विश्वास रहि आएको छ ।
महाशिवरात्रीको अवसरमा पाल्पाको शिद्ध बाबा धाम, रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं ६ मा रहेको मोक्षधाममा रहेको विश्वनाथ मन्दिर, सैनामैना–१ मा रहेको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम, बुटवलको नीलकण्ठ बाबा धाम र नरैनापुर शिलवालमा बिहानै देखि भगवान शिवको पूजा र दर्शन गर्न भक्तजनको ठूलो घुइँचो लागेको थियो । सैनामैनाको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका कार्यालय सचिव हरी शर्मा गौतमका अनुसार बिहानै ३ बजे देखिनै भक्तजनहरुको धाममा घुइँचो लागेको थियो ।
यस्तैगरी रुपन्देहीको सिद्धार्थ नगर पालिका वार्ड नं ३ शान्ति नगर स्थित संस्कृत विद्याश्रम भैरहवाको मृत्युञ्जय मन्दिरमा महाशिवरात्रीको अवसरमा एकादश अखण्ड अहोरात्र रुद्रभिशेक २५ गते बिहान सात बजे देखि २६ गते बिहान ५ बजेसम्म गरिनुका साथै हवन पूजन हुने कार्यक्रममा बिहान ४ बजे देखिनै टाढा टाढा बाट भक्तजन दर्शन पूजन गर्न आएको संस्कृत विद्याश्रम संन्यास आश्रम का पिठाधिश श्री एकहजार आठ स्वामी शान्ता नन्द सरस्वती जी महाराज ज्यू ले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);