काठमाडौं–तराई द्रुत मार्गको कस्तो छ भौतिक प्रगति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं–तराई द्रुत मार्गको कस्तो छ भौतिक प्रगति ?

काठमाडौं–तराई-मधेश द्रुतमार्ग

काठमाडौं,८ फागुन । काठमाडौं–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तिब्र गतिमा काम भइरहेको छ । नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ ।

काठमाडौं–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ । ठेक्का लागेका आयोजनाको काम तिब्रगतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षमा भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ । काठमाडौंबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताउनु भयो । उहाँले फास्ट ट्रयाक निर्माणको लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताउनु भयो । उहाँले प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भएपनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताउनु भयो । उहाँले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणको लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राख्नुभयो । उहाँले सडक ठेक्का लगाउन विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाई दिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने अपेक्षा रहेको बताउनु भयो । उहाँले प्याकेज ८ ‘ख’को पुनः ठेक्काको लागि आर्थिक प्रश्ताव मूल्यांकनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गर्नु भयो । उहाँले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फास्ट ट्रयाक निर्माणको लागि आयोजना ठेक्का लाग्न सकेन भने अगाडि बढ्न सक्दैन । अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको छ । प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भयो । मुद्दा परेकाले उच्च अदालतमा यसको मुद्दा चलिरहेको छ । हाम्रो एउटै अनुरोध के हो भने राष्ट्रिय गौरवको आयोजना भएकाले अदालतले पनि यसलाई प्राथमिकता दिएर अलिकति छिटो मुद्दा टुग्याई दिए हामीलाई फास्ट ट्रयाक निर्माणको लागि अगाडि बढाउन सक्छौं । त्यस्तो भएमा समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिन्छ कि भन्ने अपेक्षा हो । यी तीनवटा ठेक्का समयमा नै भयो भने प्याकेज ८ ‘ख’को पुनः बोलपत्र आह्वान भएको र अहिले आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा रहेका छौं । केही दिनमा टुङ्गो लगाउँछौं । त्यो ठेक्का लागेपछि अब ११ नम्बर प्याकेजमा पर्ने खोकना क्षेत्रको मात्रै बाँकी रहन्छ । सानो प्याकेज छ त्यसको लागि पनि अहिले हामीले स्थानीय र वडासँग समन्वय गरेर जति सक्दो छिटो जग्गा विवाद टुंगो लगाएर ठेक्का लगाएर काम अघि बढाउने योजना रहेको छ । चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेका छौं । आगामी ६ महिनामा नेपाली सेनलाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने त्यो हामी लक्ष्य हासिल गर्छौं ।’

त्यस्तै, काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन् । बाँकी तीन वटा देवीचौर,सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भएपनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ । निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौंबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । दु्रत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तिब्र रुपमा गरिरहेको आयोजनाले बताएको छ । बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको बताउनु भयो । उहाँले अब उक्त सुरुङ मार्ग १.४०५ किमि मात्र खन्न बाँकी रहेको भन्दै आगामी दशैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताउनु भयो । शर्माले धेद्रे सुरुङमार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताउनु भयो । उहाँले १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमि खनिसकिएको बताउनु भयो । उहाँले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब २.०९ किमि मात्र खन्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले महादेवटार सुरुङ निर्माणको कार्य तीन सिफ्टमा काम भइरहेको छ । यहाँ दुई वटा सुरुङ निर्माण कार्य तिब्रगतिमा भइरहेको छ । जसमा बायाँ साइटको सुरुङ २ हजार ४० किलोमटिर दूरी खनि सकिएको छ । दायाँ तर्फको सुरुङ पनि १ हजार ८ सय ७५ मिटर खनि सकिएको छ । यसमा ६० प्रतिशत सुरुङ खन्ने काम सकेका छौं । यही गतिमा महादेवटार सुरुङ निर्माणको कार्य भयो भने आगामी दशैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको छ । त्यस्तै अर्को धेद्रे सुरुङमार्ग लम्बाई १ हजार ७ सय २८ मिटर हो । यो सुरुङ मार्गको पनि १ हजार १ सय ३५ मिटर खनि सकिएको छ । त्यसकै अर्को सुरुङ मार्गको लम्बाई १ हजार ६ सय २२ मिटरमा १ हजार २ सय २८ मिटर खनि सकिएको छ । यही गतिमा काम भए यो सुरुङ मार्गलाई आगामी जेठमा सक्ने योजनामा छौं ।’

द्रुतमार्गमा ८९ वटा पुन निर्माण गरिँदै छन् । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ । प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ । त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ । धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । कोरियन कन्सल्टेण्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिनुभयो । उहाँले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईका पुल बन्ने बताउनु भयो । उहाँले यी पुल काठमाडौंको धरहराभन्दा अग्ला रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै,नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दीबर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताउनु भयो । उहाँले सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गर्नुभयो । उहाँले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताउनु भयो । उहाँले नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको बताउनु भयो ।

सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भएपनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको शुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भएपनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पु¥याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);