काठमाडौं, ९ माघ ||
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ । मन्त्री किराँतीले विश्वका ठूला र चलेका अन्तर्राष्ट्रिय विमानस्थलहरु पिपिपि मोडलमा नै सञ्चालन भएकाले सरकारले पनि निजगढ, पोखरा, भैरहवासहितका चार वटै अन्तराष्ट्रिय विमानस्थललाई सोही मोडल अघि बढाउने गरी अध्ययनको कामलाई अघि बढाउने तयारी गरिरहेको बताउनु भयो । मंगलवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यसलाई छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । मन्त्री किराँतीले राजनीतिक दवावको आधारमा आफूले कुनैपनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पार्नुभयो । राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरु प्रयोगमा आउन नसकेको उहाँको स्पष्टिकरण थियो ।
मन्त्री किराँतीले आफूले मन्त्रालयको नेतृत्व लिएपछि नेपाल वायुसेवा निगमको व्यवस्थापनतर्फ ५ अर्व नाफा भएको दाबी समेत गर्नुभयो । आफू मन्त्री भएपछि यता निगमले व्यवस्थापन खर्चतर्फ मुनाफा लिई ५ अर्व ऋण तिर्न सफल भएको उहाँको भनाई थियो । मन्त्री किराँतीले थलामा बसेको निगमलाई आफूले चार हात खुट्टा टेक्ने अवस्थामा पु¥याएको र त्यसको सुधारका लागि सबैले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले निगमको सुधारका लागि आफूले ३ वटा न्योरोबडी विमान खरिद गर्ने निर्णय लिनुपरेको जिकिर समेत गर्नुभयो । मन्त्री किराँतीले निजी क्षेत्रको मनपरी रोक्न पनि निगममा विमान थप गर्नुपर्ने अवस्था रहेको तर्क समेत गर्नुभयो ।