सत्ता गठबन्धन मिलेर लडे एमालेले कति सिट पाउँला ? | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सत्ता गठबन्धन मिलेर लडे एमालेले कति सिट पाउँला ?

काठमाडौं,१३ पुस । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवारहरू सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पत्राचार गर्दै पुस १८ गतेभित्र खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एक जना महिलासहित तीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका कमिटीहरूलाई निर्देशन दिनुभएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पुस १८ गते बेलुकासम्म सबै प्रदेश कमिटीले उम्मेदवार सिफारिस गरेर पठाएमा १९ पुसबाट सिफारिस नामहरूमाथि छानबिन सुरु हुने र उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिनुभयो । सिफारिस आएपछि छानबिन हुने र उम्मेदवार केन्द्रले टुङ्गो लगाउने उहाँको भनाइ छ । निर्वाचन आयोगले पुस २३ गते मनोनयनको समय तोकेको छ ।

आगामी माघ ११ गते राष्ट्रिय सभाको १९ जना सदस्य पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा हाल रहेका १७ मध्ये एमालेकामात्र ९ सांसदको पदावधि सकिँदै छ । राष्ट्रिय सभामा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा त्यसैगरी नरपति लुवार, रामचन्द्र राईको पदावधि फागुन २० बाट सकिँदै छ ।

पदावधि सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले माघ ११ मा निर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचन लड्ने घोषणा गरिसकेकाले अहिलेकै अवस्थामा एमालेले १९ मध्ये एउटै सिट पनि नपाउने स्थिति छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);