सेती खोचमा भएकोे विमान दुर्घटनामा चालक दलको कमजोरीः जाँचबुझ आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सेती खोचमा भएकोे विमान दुर्घटनामा चालक दलको कमजोरीः जाँचबुझ आयोग

काठमाडौं, १२ पुस ||
पोखराको सेती खोचमा भएको यती एयरको विमान दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । गत वर्षको माघ एक गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित आयोगले बिहीवार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ जना यात्रुसहित ७२ जनाकै मृत्यु भएको थियो । प्रतिवेदन बुझाउँदै आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताउनु भयो । उहाँले दुर्घटना हुनुको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको र त्यस अवस्थामा जहाज अगाडि बढ्न नसक्ने भएका कारण जहाज भुँइमा झरेको बताउनु भयो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको आयोगको ठहर रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उक्त विमान दुर्घटना नेपाली आन्तरिक हवाई उडानको सबैभन्दा विनाशकारी दुर्घटना भएको बताउनु भयो । यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);