भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैनः गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १४ मंसिर ||
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम दिन ढिला नगरिने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताउनु भयो । उहाँले पहिलो किस्ता बुझेर आवास निर्माणको काम शुरु गर्नासाथै बाँकी २५ हजार रुपैयाँ बैंकमार्फत दिइने बताउनु भयो । दोस्रो किस्ता दिनका लागि पनि कुनै ढिलाइ नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले दुई किस्तामा दिइने भएपनि समयको ग्याप धेरै नहुने भएकाले एकै किस्ता दिए जसरी नै रकम प्रदान गरिने उल्लेख गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने बताउनु भयो । उहाँले पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरु सँग छलफल गरी योजना बनाएर काम गर्ने बताउनु भयो ।
बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले जाजरकोटमा टेन्ट १ हजार ६३४ वटा, त्रिपाल ४१ हजार ४०२, ब्याङ्क्वेट ३१ हजार ६५४, म्याट्रेस १३ हजार ४९२ र स्लिपिङ ब्याग २ हजार ४८५ पठाइएको जानकारी दिनुभयो । त्यस्तै रुकुम पश्चिममा ८०३ वटा टेन्ट, त्रिपाल २२ हजार २५०, ब्ल्याङ्केट ६ हजार १७, पि फम ५ हजार २०१ वटा र स्लिपिङ ब्याग १ हजार ३१४ वटा पठाइएको बताउनु भयो । उहाँले हालसम्म आवास निर्माणका लागि जाजरकोटमा ५५ करोड, रुकुम पश्चिममा ५५ करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड, सल्यानमा २ करोड रुपैयाँ गरी जम्मा १ अर्ब ५१ करोड रुपैयाँ पठाइएको जानकारी दिनुभयो ।
भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा गरी कुल १५४ जनाको मृत्यु र ३६६ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७९४ र आंशिक क्षति २४ हजार घरमा भएको सचिव भट्टराईले बताउनु भयो । रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण क्षति, ९ हजार ९६१ आंशिक क्षति हुनुका साथै १६ वटा सार्वजनिक भवन पूर्ण क्षति र २१ वटा आंशिक क्षति भएको जनाइएको छ । त्यस्तै रुकुम पूर्वमा १५० घर, सल्यानमा ६ सय बढी घर, रोल्पामा १०० बढी घर र प्युठानमा ३१ घरमा क्षति भएको उहाँले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);