चिसो थेक्न नसकेर एक महिने बालिकासहित ११ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चिसो थेक्न नसकेर एक महिने बालिकासहित ११ को मृत्यु

जाजरकोट,६ मंसिर । जाजरकोटका विभिन्न स्थानमा भूकम्पले घर भत्किएपछि चिसो थेक्न नसकेर दुई हप्तामा एकमहिने बालिकासहित ११ जना भूकम्पपीडितको मृत्यु भएको छ ।

त्रिपालमुनिको बसाइ र लेकको अत्यधिक चिसोमा राहतबाट पाएको एकसरो कपडाको भरमा दिनरात बिताएका भेरी नगरपालिका २ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुता पुनको सोमबार जाजरकोट अस्पतालमा मृत्यु भएको थियो । गत कार्तिक १७ गतेको भुईंचालोले घर क्षतिग्रस्त बनाएपछि त्रिपालमुनिको बसाइका कारण निमोनिया भएपछि जाजरकोट अस्पातलमा ल्याइएका ती बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाँउपालिकाका लेकाली भेगका बस्तीमा त्रिपालमुनिको बसाइमा पर्याप्त मात्रामा कपडा नभएपछि आगोको भरमा रात बिताएका बालबालिकाका साथै फोक्सो, मुटु, दमलगायतका दीर्घरोगीहरू अध्यधिक चिसोको कारण मृत्युवरण गर्न बाध्य छन् । अत्यधिक चिसोका कारण एक हप्ताअघि सात जना दीर्घरोगीको मृत्यु भइसकेको छ भने त्यसयता पनि बारेकोट गाउँपालिका १ बयालाका ६० वर्षीय कर्णबीर बिक, बारेकोट गाउँपालिका ६ ताँसीका ५५ वर्षीय बीरबहादुर विक, भेरी नगरपालिका ४ का केशव भडेल मृत्यु भएको भेरी नगरपालिका २ का पूर्व वडाअध्यक्ष कालीबहादुर वलीले बताउनुभयो ।

नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतका अनुसार कार्तिक १७ गतेदेखि आरामसँग सुत्न र खान नपाएपछि विभिन्न रोगले ग्रसित भएर दैनिक एक सयभन्दा बढी बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेको छ । भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई खानाभन्दा सुत्नको चिन्ताले सताउने गरेको छ । नियामित औषधि खाने दीर्घरोगीले औषधि खान नपाएपछि झनै रोगले ग्रसित बन्न पुगेका छन् ।

जिल्लाबाट आएको राहत सामग्री परिवारलाई एक थानका दरले वितरण गरे पनि त्यतिले चिसो छेक्न नसक्ने भएपछि भूकम्पपीडितहरू धमाधम बिरामी पर्न थालेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीको भनाइ छ । बारेकोट गाँउपालिका १ रामीडाँडा, सिल्पाचौर, वडानम्बर २ को मुल्साम, पारामुल्साम भेरी नगरपालिका २ रिसाङ्ग, वाहुनथाना, तिमिले, राङ्सी र कुशे गाउँपालिकाका ९ वटै वडामा अत्यधिक चिसो हुन्छ । त्यहाँ साँझ पर्न साथ चिसो सिरेटो चल्न हुन्छ, एक सरो लत्ताकपडाले चिसो छल्ने अवस्था छैन ।

घर भत्किएपछि खेती लगाएको जमिनमा अस्थायी बसोबास गरिरहेका भूकम्प पीडितका त्रिपालबाट पानी परेजस्तै शीत चुहिएर ओड्ने ओछयाउने भिजेका हुन्छन् । निन्द्रा नलागेसम्म आगो ताप्ने निन्द्रा लागेपछि त्रिपालमुनि सुत्ने गरेका अधिकांशमा टाउको दुख्ने, रुघाखोकी, पखाला र निमोनियाको लक्षण देखिन थालेको छ । गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरिक, बालबालिका र निमोनिया, दम, मुटुका दीर्घरोगीहरू रोगी समस्या परेका छन् ।

भेरी नगरपालिकाको १ र २ नम्बर वडामा ३० जनाभन्दा बढी बालबालिका बिरामी परेका छन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिकहरू बिरामी पर्न थालेपछि स्थानीयबासीले सरोकारवाला निकायसँग गाउँबस्तीमा स्वास्थ्य शिविर सञ्चालनको माग गरेका छन् ।

भूकम्पपीडितको दुःखमा मलम
कांग्रेसले २ सय ५० स्वयंसेवक पठाउँदै

नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न पहिलो चरणमा १०÷१० जनाको १३ वटा समूह भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मंगलबार बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले एक इन्जिनियर वा ओभरसियर, दुई दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १० जनाको १३ वटा समूह पहिलो चरणमा भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको हो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पहिलो चरणमा एक हप्ता काम गरिसकेपछि क्रमिक रूपमा अर्को १२ वटा समूहलाई सम्बन्धित क्षेत्रमा पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने छ ।

सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी बैठकले अस्थायी आवास निर्माणका लागी २५ वटा टोली बनाएर २ सय ५० भन्दा बढी स्वयंसेवक खटाउने निर्णय गरेको थियो । उक्त बैठकमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कामको जानकारी दिनुभएको थियो । भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने भन्दै कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा एक समूह सोमबार नै प्रभावित क्षेत्रमा पठाइसकेको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले गत मंसिर १ गते अस्थायी आवास निर्माणका लागि गण्डकी प्रदेशबाट ५० जना स्वयमसेवक खटाएको थियो । मंसिर १ गतेबाट एक हजार स्वयंसेवक खटाउने पार्टीको निर्णयअनुसार नै गण्डकी प्रदेशबाट ५० जना स्वयंसेवक खटाएको हो ।

सरकारले अनुदान रकम दिए पनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएको जिकिर गर्दै विश्वकर्माले भन्नुभयो– ‘जोखिममा रहेको परिवार, बिरामी, एकल महिला र वृद्धवृद्धा रहेको परिवारले पैसा पाए पनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था छैन । त्यसैले स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी अस्थायी आवास बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका हौं ।’

कांग्रेसले अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट स्वयंसेवक, इन्जिनिरिङ एसोसिएसनबाट इन्जिनियर र टे«ड युनियनबाट मिस्त्री लिने बताएको छ । काममा खटिएका जनशक्तिका लागी लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै व्यहोर्ने बताइएको छ । श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरू परिचालन गर्ने समेत निर्णय भएको छ ।

प्रभावित क्षेत्रमा पठन–पाठन सञ्चालन गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रूपमा कार्य गर्ने भएको छ । कात्तिक १७ गते राती जाजरकोट र रूकुम पश्चिममा गएको ६।४ म्याग्नेच्युडको भूकम्पमा परी १ सय ५३ को ज्यान गएको थियो भने त्यसयता चिसोका कारण झन्डै एक दर्जनले ज्यान गुमाइसकेका छन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);