राजनीति

ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोले देश छाडेको भन्ने खबरप्रति आलोचना गर्दै त्यसलाई ‘लज्जास्पद’ बताउनुभएको छ । मंगलवार राजधानी ब्रासिलियास्थित राष्ट्रपति निवास अल्भोराडा प्यालेस बाहिर आफ्नो ८१ औँ जन्मदिन मनाउन भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै लुलाले बोल्सोनारोको देश छाड्ने निर्णयप्रति दुःख व्यक्त गर्नुभएको हो । लिबरल पार्टीका संघीय सांसद माउरिसियो मार्कोनले मंगलवार फ्लाभियो बोल्सोनारो ब्राजिल छाडेर अमेरिका जाँदै गरेको बताएका थिए । तर बोल्सोनारोले देश छाडेको विषयमा आधिकारिक पुष्टि भएको छैन । ब्राजिलको सर्वोच्च संघीय अदालतले सोमवार बोल्सोनारोलाई देश छाड्न रोक लगाएको थियो । ब्राजिलका सञ्चारमाध्यमका अनुसार अदालतको आदेश सम्पती शुद्धीकरणसम्बन्धी अनुसन्धानसँग सम्बन्धित छ । उक्त अनुसन्धानमा बोल्सोनारो र कानून व्यवसायी विलर टोमाजमाथि पनि अनुसन्धान भइरहेको छ । ब्राजिलका सञ्चारमाध्यमले अध्यागमन नियन्त्रण प्रणालीमा बोल्सोनारोले नियमित सीमा जाँच प्रक्रिया पूरा गरेर देश छाडेको अभिलेख नरहेको जनाएका छन् । उनी देशबाट कसरी बाहिरिए वा बाहिरिएका हुन् कि होइनन् भन्ने विषयमा संघीय प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार सम्पन्न राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका थिए । बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका थिए ।

Related Post
Share

This website uses cookies.