नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं,५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् । धरौटीमा छुटेका २ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ । प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको हो । पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् ।

खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै रहेका छन् । सबैको निवेदनमा एकैपटक सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ । अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

Leave a Reply

ताजा समाचार