काठमाडौं, १३ कात्तिक । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा छलफल हुनेछ ।
साथै नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा माछा, दुध, मल र चिनीको बिक्री वितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै बाँदर नियन्त्रण सम्बन्धी विषय र खाद्य स्वच्छता सम्बन्धी विधेयकको प्रगति विवरण सम्बन्धी आन्तरिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै दिउँसो १२ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।




