काठमाडौं, २ कात्तिक । नेपालीहरुको महान चाड विजया दशमी एवं शुभ दीपावलीको अवसरमा मुस्लिम आयोगले सम्पूर्णमा शुभकामना प्रदान गरेको छ । बुधवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी आयोगले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरी शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दशैँ सबै नेपालीको चाड भएकाले उत्सवका साथ मननाउनुपर्ने बताउनु भयो । उहाँले नेपालीहरु शान्तिप्रिय भएकाले कुनै धर्मधर्म बीचमा झैझगडा र द्वन्द्व गर्न नहुने बताउनु भयो । उहाँले सबै धर्मावलम्वीहरु एक आपसमा मिलेर बस्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय केही छिटपुट घटना भइरहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले बाहिरबाट आएका व्यक्तिको उक्सावटमा साम्प्रदायिक द्वन्द्व हुने गरेको बताउनु भयो । धर्मको नाममा द्वन्द्व पैदा हुन नहुने बताउनु भयो ।
कार्यक्रममा नेपालीहरुको महान चाड बडा दशैँको शुभकामना दिँदै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले लामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँत लगायतका धर्मावलम्वी र समुदाय एक आपसमा मिलेर बसिरहेकाले अहिले पनि सोही कुरालाई निरन्तरता दिनुुपर्ने बताउनु भयो । पछिल्लो केही समय यता केही असामाजिक र अराजक तत्त्वहरुले नेपालमा रहेका धर्मावलम्वीहरुको बीचमा खेल्ने र धार्मिक सहिष्णुतालाई खल्बल्याउने प्रयास गर्ने र भाइचारा सम्बन्ध डग्मगाउने प्रयास गर्ने काम भइरहेको बताउनु भयो । उहाँले हिन्दु र मुस्लिम, बौद्धिष्ट र किराँतको नाममा असामाजिक कार्य गर्नेहरुलाई असफल बनाउनुपर्ने बताउनु भयो ।
अध्यक्ष अन्सारीले मुस्लिम समुदायले देशको भाइचारा सम्बन्ध बिथोल्न नसक्ने बताउनु भयो । उहाँले कुनैपनि अपराध गर्ने व्यक्ति कुनै धर्मको नहुने र अपराधि हुने भएकाले त्यस्ता व्यक्तिलाई कारबाही गरी समुदायलाई बीचमा ल्याउन नहुने बताउनु भयो । मुस्लिम आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।